हिमाल एकाडेमीमा रक्तदान कार्यक्रम सम्पन्न

तुलसीपुर, १३ साउन ।
६०औं रक्तसञ्चार दिवसको अवसरमा दाङको तुलसीपुरस्थित हिमाल एकाडेमीमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दाङ जिल्ला रेडक्रस समाजको प्राविधिक सहयोग तथा हिमाल एकाडेमीको आयोजनामा सम्पन्न भएको हो।

रक्तदान तथा रक्तदाता उत्प्रेरणा अभियानअन्तर्गत सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको दाङ रेडक्रसले जनाएको छ। लमही, घोराही र तुलसीपुर क्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा आयोजना गरिएको कार्यक्रमको समापन आज हिमाल एकाडेमीमा गरिएको हो।

कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी ४६ जनाले रक्तदान गरेका थिए। विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीका अनुसार दाङमा रगतको अभावको अवस्था देखिँदै आएकोले विद्यालयले हरेक वर्ष दुईपटक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।


रेडक्रस दाङका उपसभापति हरिहर पौडेलले यस वर्षको कार्यक्रम विगतका कार्यक्रमहरूभन्दा फरक ढंगले र थप उपलब्धिमूलक तरिकाले सम्पन्न गरिएको जानकारी दिनुभयो।

रक्तदान कार्यक्रममा विद्यालयका निर्देशक नवीन कुमार पराजुली, रेडक्रसका प्रतिनिधिहरू बिमल ओली, सुस्मा भण्डारी लगायतको उपस्थिति रहेको थियो। दाङ रेडक्रसले रक्तदान कार्यक्रममार्फत समुदायमा रगतदानप्रति सकारात्मक सन्देश फैलाउने उद्देश्य लिएको जनाएको छ।