‘वेपत्ता परिवारको आश अझै मरेको छैन’

तुलसीपुर, १५ भदौ । दाङ दंगीशरण गाउँपालिका वडा नं.३ चितानपुर निवासी हरिराम चौधरी २०५९ देखि वेपत्ता भए । तुलसीपुरमा मल ल्याउन भनि आएका चौधरी वेपत्ता भएपनि परिवारको भने आश अझै मरेको छैन ।“अझै पनि आउनु हुन्छ, की भन्ने लाग्छ”, भाई सीताराम चौधरीले भने “आश अझै पनि मरेको छैन ।”

यस्तै आशामा छन्, तुलसीपुर उपमहानगरपालिका वडा नं.११ निवासी लक्ष्मी चौधरी पनि । उनका श्रीमान खोपीराम चौधरी पनि २०५९ सालमा बेपत्ता भए । त्यसपछि अहिलेसम्म पनि कुनै पत्ता लाग्न नसकेको भन्दै दुःखेसो पोखे ।“ न त शास छ, न त लाश नै भेटियो”,उनले भने “अझै पनि आउनु हुन्छ की भन्ने नै लाग्छ ।”

सरकारले अझै पनि कस्तो अबस्था छ, भन्ने कुरा पत्ता नलगाउँदा अझै पनि मल्हम लाग्न नसकेको उनको भनाई छ । पटक–पटक अन्तरक्रिया कार्यक्रम पनि हुने, अबस्था बुझ्न पनि आउने गरेको भएपनि बास्तविक अबस्था भने पत्ता लाग्न नसकेको भन्दै उनले दुखेसो पोखे ।

घोराही उपमहानगरपालिका वडा नं.१७ निवासी विपिन आचार्यका वुवा थानेश्वर आचार्य पनि २०५९ मै वेपत्ता भए । उनी वेपत्ता भएपछि अहिले घरमा अंशबण्डाको कार्य नै प्रभावित भएको छ । “वुवा वेपत्ता हुनुहुन्छ, उहाँको मृत्यु भएको प्रमाणित नहुँदा अंशबंण्डा नै प्रभावित भएको छ”, उनले भने “वुवाहरुकै अंश बण्डा भएको छैन ।”

उनीहरुजस्तै वेपत्ता परिवारहरु अहिले पनि पीडित छन् । घरकै मुली मान्छे वेपत्ता हुँदा घर चलाउन पनि समस्या हुने गरेको छ ।


द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले युद्धको समयमा बेपत्ता पारिएका नागरिकहरुको अवस्थाबारे जानकारी हुन नसकेका कारण युद्ध सकिएको मान्न नसकिने बताए । विस्तृत शान्ति सम्झौता भएको १९ वर्षसम्म पनि वेपत्ता छानविन हुन नसक्नु दुःखद भएको उनको भनाई छ । नेपाल रेडक्रसको तथ्यांकअनुसार दाङमा ८२ परिवारका सदस्यहरु बेपत्ता पारिएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा रेडक्रस सोसाइटी दाङ, द्वन्द्व पीडित सञ्जाल दाङ तथा तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा तुलसीपुरमा सम्पन्न कार्यक्रममा उपस्थित बेपत्ताका परिवारले आफ्ना गुनासा सुनाए भने बेपत्ता पारिएका आफ्ना आफन्तको अवस्थाबारे जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले यो विषयको दीर्घकालीन व्यवस्थापन गर्ने संघीय सरकारकै काम भएको बताए । उनले उपमहानगरपालिकबाट आयआर्जनमा जोड्नुकासाथै निःशुल्क शिक्षा समेत प्रदान गर्ने गरेको बताए ।
रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बेपत्ता पारिएका जिल्लाका करिब ५० परिवारका सदस्यहरु सहभागी थिए ।

कार्यक्रममा द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले स्वागत तथा विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्दले गरेका थिए ।