काठमाडौंबाट दाङ आउदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौं, २९ असार ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट दाङ आउदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

उनका अनुसार तीन जना घाइतेको अवस्था गम्भीर र २३ जनाको अवस्था मध्यम छ । तीनजनालाई उपचारको लागि बुटवल रेफर गरिएको छ भने २३ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। ‘धेरैजसो घाइते डिस्चार्ज हुने प्रक्रियामा छन्,’ अधिकारीले भने ।


बुटवल रेफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका वडा नंम्बर १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका वडा नम्बर १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहेका छन्। उनीहरूलाई बिहान सवा ५ बजेतिर बुटवल रेफर गरिएको हो।

सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका वडा नम्बर ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ बस्ने ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का रहेका छन्।

त्यस्तै अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका ४ बस्ने २८ वर्षीय रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका १ बस्ने ४३ वर्षीय भीम बहादुर बि.क, सल्यान बागचौर नगरपालिका ४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बि.क. दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका ४ का २२ वर्षीय विशाल बोहरा, दाङ दङ्गीशरण गाउँपालिका २ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका ३ बस्ने ४२ वर्षीय रश्मि बोहरा र घोराही उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय वेद बहादुर वली रहेका छन्।