दाङ, १३ जेठ । शहीद कृष्णसेन इच्छुकलाई दाङमा बिभिन्न कार्यक्रम गरि सम्झिईएको छ । पत्रकार, शाहित्यकार एवं राजनीतिज्ञ इच्छुकको २२ औं स्मृति दिवसका अवसरमा पत्रकार महासंघ दाङ र प्रेस सेन्टर दाङले संयुक्त रुपमा कार्यक्रम आयोजना गरि सझिएको हो ।
आईतबार आयोजित कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले इच्छुकले नेपाली पत्रकारीता इतिहासमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । इच्छुक जस्ता ब्यक्तीको बलिदानीले नै मुलुक परिबर्तन सम्भव भएको उहाँको भनाई थियो ।“कुनै समय समाचार लेख्दा हातका औला काटिन्थ्यो, सञ्चार माध्याममा ताला लाग्थ्यो”,उहाँले भन्नुभयो“अहिले मुलुकमा प्रेस स्वतन्त्रता छ, यो ल्याउनमा इच्छुक जस्तै ब्यक्तीको ठूलो हात छ ।”
त्यस्तै पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले कृष्णसेन नेपाली पत्रकारिताको इतिहास रहेको भन्दै उहाँले देखेको सपना पूरा गर्न तर्फ लाग्नु पर्ने बताउनुभयो । इच्छुकको जस्तै सबैले त्याग गर्न सके समाज रूपान्तरणमा समय नलाग्ने उहाँको भनाई थियो ।“कृष्णसेनले जहिल्यै त्यागको प्रतीकको भूमिका निर्वाह गरेको, व्यक्तिगत लाभ, पद, प्रतिष्ठा, सेवा–सुविधामा ध्यान पनि गएन”,उहाँले भन्नुभयो“सबैले यसरी नै त्याग गरे मुलुक अगाडी बढछ ।”
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले त्याग र साधनाको संस्कृति अपनाए मात्रै कृष्णसेनप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । २२ वर्षअघि दिन २०५९ साल जेठ १३ कृष्णसेन इच्छुकको निर्ममतापूर्वक हत्या गरिएको थियो ।
सात पत्रकार पुरस्कृत
इच्छुकको २२औँ स्मृति दिवसका अवसरमा दाङका सात जना पत्रकारलाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर दाङको संयुक्त आयोजना भएको कार्यक्रममा सात जना पत्रकार पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कारबाट भुपेन्द्र प्रकाश वली, प्रेस सेन्टर दाङले स्थापना गरेको पुरस्कारबाट पुरन शर्मा र डिल्ली मल्ल, लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट शिबु खनाल र गिरिराज नेपाली, प्रेस सेन्टर क्रियाशील पत्रकारिता पुरस्कारबाट सुमन केसी र सिर्जना विकलाई प्रदान गरिएको थियो । पुरस्कार प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले वितरण गर्नुभएको थियो ।
कृष्णसेन इच्छुक शिक्षालयले पनि सम्झियो
शहीद कृष्णसेन इच्छुकको स्मृतिमा दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा कार्यक्रम आयोजना गरिएको छ । इच्छुकको २२ औँ स्मृति दिवसमा नेपाल राष्टृय कर्मचारी संगठनले शहीक कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय एकाइ कमिटीले कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्दृय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्य तथा एकाइ कमिटी अध्यक्ष लोकेन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सर्जन गौतमले महान शहीद सेनको वृत्तान्त सुनाउनुभएको थियो ।
त्यस अवसरमा कृष्णसेनको सालिक परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।
इच्छुकको विगत
प्युठान सराङकोटबाट इच्छुकको परिवार अर्घाखाँचीको जलुके गाविस ७, सातमारामा बसाइँ सरेको थियो । उहाँका बुबा भारतीय सेनामा जागिरे हुनुहुन्थ्यो । भारतमै २०१३ कात्तिक २ गते पिता यामबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट इच्छुकको जन्म भयो । ६ वर्षसम्मको उहाँको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो ।
इच्छुकले कक्षा १ देखि ८ सम्म दाङको देउखुरीमा रहेको आदर्श माविमा पढ्नुभयो । त्यसपछि दाङकै लालमटियास्थित सरस्वती हाइस्कुलबाट २०३२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । पढ्ने चाहना हुँदाहुँदै गरिबीका कारण उहाँ एसएलसीपछि कोइलाबासमा भएको साल्ट ट्रेडिङको कार्यालयमा काम गर्नुभयो । काम गर्दागर्दै भारतबाट प्राइभेट परीक्षा दिएर आईए उत्तीर्ण गर्नुभयो । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट बीएड गरी एमएमा भर्ना हुनु भएको थियो । तर, उहाँ जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा एमए पूरा गर्न सक्नु भएन । कृष्णसेनको विवाह २०४८ सालमा तक्मा केसीसँग भयो र उहाँहरूका एक छोरी(समीक्षा) छन् । स्कुल पढ्दादेखि नै इच्छुकलाई जनताको पक्षमा गरिने राजनीतिक विचारधाराले प्रभावित पारेको थियो । २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका सेनले २०३७ सालदेखि दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
२०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति’ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका उहाँले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उहाँकै सम्मान र सम्झनामा ‘शोकाञ्जली’ काव्य लेख्नुभयो । जो २०४८ सालमा प्रकाशित कृति हो ।
राजनीतिकै क्रममा उहाँ थुप्रै पटक जेल जीवन पनि विताउनु भयो । जेल जीवनका क्रममा लेखिएका सुविख्यात पत्रकार इच्छुकका रचना इतिहासको यो घडीमा, बन्दी र चन्द्रागिरी, शोकाञ्जलि लगायत झन्डै आधा दर्जन कृति प्रख्यात छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई गिरफ्तार गरियो । जेलबाट छुटेपछि उहाँ दाङको महेन्द्र क्याम्पसमा भर्ना हुनुभयो । क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा सक्रिय सेन २०३९ सालमा पुनः पक्राउ पर्नुभयो । त्यस बेलाको उहाँ पाँच बर्ष जेल बस्नुभयो । उहाँ २०४४ सालमा मात्र जेलबाट छुटे ।
०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक, २०४६ सालमा कम्युनिस्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय ब्युरोको सेक्रेटरी हुँदै उहाँ संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य हुनुभयो । अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्ष, प्रगतिशील लेखक संघको केन्द्रीय पार्षद, पत्रकार महासंघको पार्षद, दक्षिण एसियाली पत्रकार संघको सदस्य र जनअधिकार सरोकार अभियानका सदस्य समेत हुनुहुन्थ्यो ।
अन्त्यमा २०५९ जेठ ६ गतेका दिन उहाँलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो । त्यहीँ प्रहरीले यातना दिएर २०५९ जेठ १३ गते हत्या ग¥यो ।
लाइभदाङ । १३ जेष्ठ २०८१, आईतवार २१:३७ बजे