
घोराही,२० असार ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सुत्केरी गराउन ल्याइएकी एक युवतीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त भएको छ। घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारको शुक्रबार उपचारका क्रममा निधन भएको हो।
परिवारका अनुसार बिहान ४ बजे सुत्केरी गराउन ल्याइएको गुड्डीलाई बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिएको थियो। तर अवस्था जटिल भएपछि करिब १२ बजे शल्यक्रिया ९अपरेसन० गरेर शिशुको जन्म गराइएको थियो। केही समयपछि नै गुड्डीको ज्यान गएको जानकारी प्राप्त भएको छ।

युवतीको निधन भएको खबर फैलिएसँगै उनका आफन्तहरू आक्रोशित बनेका छन्। उनीहरूले चिकित्सकीय लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै अस्पताल परिसरमै प्रदर्शन गरेका छन्। केही आक्रोशित आफन्तले अपरेसन वार्डमा प्रवेश गरी चिकित्सकमाथि हातपातसमेत गरेका छन् भन्ने अस्पताल प्रशासनले जनाएको छ।
मृतकका ससुरा महावीर सुनारले आफ्नो बुहारीको मृत्यु चिकित्सकको लापरबाहीकै कारण भएको दाबी गरेका छन्। दोषी चिकित्सकमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिई शव नउठाउने अडान पनि उनले राखेका छन्। साथै, नवजात शिशुको उचित र निःशुल्क उपचारको मागसमेत राखिएको छ।
यस विषयमा प्रतिष्ठानका निर्देशक डा। जनार्दन पन्थीले सत्यतथ्य बुझ्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। उनले सुत्केरीको स्वास्थ्य अवस्था, उपचार विधि तथा प्रक्रियाबारे तथ्यमा आधारित रिपोर्ट सार्वजनिक गरिने बताए।
हाल अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले समस्या समाधानका लागि संवाद अघि बढाएको छ।




लाइभदाङ । २० असार २०८२, शुक्रबार १९:०८ बजे