
दीपक बोहरा
दाङ, २० असार ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाका कार्यपालिका सदस्य तिर्था पुन दैनिक अल्लोका सामग्री निर्माण गर्ने र विक्री गर्नेमै ब्यस्त छिन् । उनी कार्यपालिका बैठक भएको बेला बैठकमा जाने र जनताको केही समस्या भएमा पुग्छिन्, अन्य समय भने आफ्नै अल्लो उद्योगमा अल्लोका सामग्री बनाउनमै ब्यस्त हुन्छिन् । उनले अल्लो कपडा निर्माण गर्नुका साथै अर्डर अनुसार झोला, पर्स, टोपी,कोटलगायतका सामग्री बनाएर बेच्ने गर्दछिन् ।
२०५४ सालदेखि तत्कालिन माओवादीले सुरु गरेको सशस्त्र संघर्षमा समेत सहभागी भएकी उनले रुकुम पूर्वमा अल्लो उत्पादन हुने भएकाले त्यसबाट कपडा बनाएर बेच्ने गरेको बताउँछिन् । “रुकुमपूर्वमा अल्लो उत्पादन हुन्छ, त्यसबाट कपडा बनाएर बेच्ने गर्छौ”,उनले भनिन् “यसले स्वरोजगार बनाएको छ ।”

यसबाट मनग्य आम्दानी लिन नसकिएको भए पनि स्वरोजगार भने बनाएको उनले बताईन् । वार्षिक ५ लाखसम्मको कारोबार हुँदा ३ लाखसम्म खुद आम्दानी हुने गरेको उनले बताईन् । बाहिरी जिल्ला मात्रै नभई विदेशसम्म निर्यात गर्न सकेमा भने यसबाट मनग्य आम्दानी लिन सकिने उनको भनाई छ ।“अहिले हामीले स्थानीय बजार रुकुमकोटमा मात्रै बिक्री गर्दै आएका छौं”,उनले भनिन् “यसलाई बाहिरी देशसम्म पठाउन सकियो, भने राम्रै आम्दानी गर्न सकिन्छ ।”
अहिले स्थानीय मेला महोत्सवहरुमा पनि बिक्री गर्ने गरिएको उनले बताईन् । २०७४ सालदेखि उनले अल्लोबाट सामग्री बनाउन थालेकी हुन् । हाल अल्लोका सामग्री हातले नै बनाईने गरिएको छ । यसबाट ४ जनालाई रोजगारी समेत दिएको उनले बताईन् । “पढ्नलाई बाहिरबाट यहाँ आउनु भएको हुन्छ”, उनले भनिन् “उहाँहरुलाई पनि रोजगारी दिन सकिएको छ, अहिले नियमित ४ जनाले काम पाइरहनुभएको छ ।”
उत्पादन माग अनुसार धेरै गर्न सकिने भएकाले बाहरी जिल्ला र देश बाहिर नै बजारीकरण गर्न सकिने कुरामा सबै तहका सरकारले ध्यान दिनुपर्ने समेत उनले बताईन् । साभारः अग्रिम साप्ताहिक




लाइभदाङ । २० असार २०८२, शुक्रबार ११:३८ बजे