तुलसीपुर १२ मा धमाधम सडक बन्दै

दाङ, ८ जेठ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ मा करोडौंको लागनीमा सडक सञ्जाल विस्तारको काम अघि बढेको छ । वडा कार्यालयको पहलमा एकीकृत बस्ती विकास योजना, प्रदेश सरकार लगायतबाट दर्जनौं सडक स्तरोन्नती तथा ट्रयाक खोल्ने कार्य भईरहेको छ ।

वडाध्यक्ष खुसीराम चौधरीका अनुसार एकीकृत बस्ती विकास योजनाले रझेना, रझेनी, कचेली, कचिला, हरीपौरीलगायतका नयाँ ट्रयाक खोल्नुकासाथै स्तरोन्नती गर्ने कार्य जारी राखेका छ । ति सडक सबै साढे २ करोड लगानीमा बन्न लागेका हुन् ।

त्यस्तै टरिगाउँ एयरपोर्टदेखि टरिगैं–कचेली–कचिला जोड्ने सडकको ट्रयाक खोल्ने कार्य भइरहेको छ । त्यसको लगानी ७० लाख रहेको वडाध्यक्ष चौधरीले बताए । त्यस्तै वडा कार्यालयको लगानीमा कचेलीका २ स्थानमा, टरिगाउँ, हरीपौरी र चिम्टहवामा नयाँ ट्रयाक खोल्ने कार्य भएको छ ।


यो वडा कार्यालयको ३० लाख लगानीमा निर्माण हुन लागेको कार्य हो । साथै वडामा यो वर्ष मात्रै करिब २ किलोमिटर सडक कालोपत्रे भएको छ । वडामा सडक विस्तारलाई प्राथमिकता दिएर काम अघि बढाएको वडाध्यक्ष चौधरीले बताए ।

‘सडक सञ्जालको एउटा आधार हो, त्यसैले हामीले गाउँ–गाउँमा सडक विस्तारलाई प्राथमिकता दिएका छौं’,उनले भने‘सडक सञ्जाल विस्तार पछि स्थानीयलाई आवतजावतमा समेत सहज भएको छ ।’