
तुलसीपुर, १० असार ।
तुलसीपुर उपमहानगरपालिकाले आज बजेट सार्वजनिक गर्न लागेको छ । स्थानीय सरकारले असार १० गतेभित्र बजेट सभामा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार तुलसीपुरले बजेट ल्याउन लागेको हो । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब बजेट ल्याउन लागेको मेयर टिकाराम खड्काले जानकारी दिनुभयो ।
यद्यपि गत वर्षको भन्दा यस वर्ष बजेट कम आउने उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँ बजेट सभामा पेश गरिएको थियो । यस वर्षको बजेटमा भौतिक पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएको मेयर खड्काले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले दिउसो १ बजे बजेट सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । ८ गते मात्रै पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।
सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार दाङका सबै पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । दाङमा २ वटा उपमहानगरपालिका, १ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । १० मध्य ९ वटा पालिकाले यस अघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि बङ्गलाचुली गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेटसँगै ल्याउने तयारी गरिएको छ ।



लाइभदाङ । १० असार २०८२, मंगलवार ०९:५१ बजे