
दीपक बोहरा
दाङ, ५ असार ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका डायोलाइसिस र सीटीस्क्यान मेसिन विग्रिएको एक वर्ष भन्दा बढि भइसकेको छ । तर, मर्मत हुन सकेका छैनन् । ति मेसिनहरू बनाउन नै नमिल्ने गरि विग्रिएका छन् ।
काम नलाग्ने भयो ‘सिटिस्क्यान’
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको सिटिस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएर थन्किएको छ । त्यो मेसिन मर्मत हुन नसक्ने भनि प्राविधिकहरुले भनिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । उनका अनुसार मर्मत गर्ने निकाय भनेको स्वास्थ्य मन्त्रालय प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र नै रहेको भन्दै यो मेसिन अब मर्मत पनि हुन नसक्ने अवस्थामा रहेको डा. अधिकारीको भनाई छ । यो मेसिन ६४ सलाईसको मेसिन भएकाले यो मेसिन मापदण्ड भन्दा बाहिर रहेको पनि डा. अधिकारीले बताए । “६४ सलाईसको मेसिन मापदण्ड भन्दा बाहिरको हुन्छ, कमसल हुन्छ, भनिएको छ”,उनले भने “यहाँ आउँदा त्यस्तै आयो, खास अहिले चलाउन मिल्दैन भन्ने छ, अब झन बिग्रिसकेको छ ।” केन्द्रबाट नै मेसिन पठाएकाले मर्मत गर्ने जिम्मा पनि उसकै भएको उनको भनाई छ ।
२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनीले मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटिस्क्यान सेवा शुरु भएको थियो । तीन करोड बढि लागतमा उक्त मेसिन खरिद भएको थियो । तर, त्यो मेसिन सञ्चालनको पाँच वर्षमा बग्रिएको छ । मेसिन बिग्रिदा गम्भीर नसासम्बन्धि बिरामी र दुर्घटनाका घाइतेहरुलाई बाहिर जिल्ला रेफर गर्नुपर्ने अवस्था रहेको छ ।
मर्मत नै गर्न नमिल्ने डायोलाइसिस
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायोलाइसिस मेसिन बिग्रिएको एक वर्ष भन्दा बढि भएपनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिन मध्ये हाल ५ वटा मेसिन बिग्रिएका छन् । ९ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायोलाइसिस शाखा प्रमुख लिना बडेलले बताईन् ।मर्मत गर्नकालागि काठमाडौंबाट इन्जिनियर नै आउनु पर्ने भएपनि इन्जिनियरहरु आउन नमानेको उनले बताईन् । “इन्जिनियरहरुलाई बोलाएको हो”,उनले भनिन् “तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नु भएको छैन ।” डायोलाइसिस मेसिन बिग्रिदा निकै समस्या हुने गरेको छ ।
घर पायक डायोलाइसिस गर्न चहानेहरुलाई समेट्न नसकिएको उनले बताईन् । तुलसीपुरकै बिरामीहरुलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानु पर्ने अवस्था रहेको उनले बताईन् । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायोलाईसिसकालागि दाङसहित सल्यान,रुकुम पूर्व,रुकुम पश्चिम, रोल्पा, प्यूठान लगायतका ठाउँबाट बिरामीहरू आउने गरेका छन् ।
दुइसय सैया बनाउन पाँच करोड मात्रै
लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई दुईसय सैया बनाउने नारा वर्षेनी दिइरहेको छ । विगत वर्ष पनि दुई सय सैयाकालागि भनेर बजेट विनियोजन गरेको थियो । तर, न्यो न्यून बजेट थियो । त्यसले काम पनि हुन सकेन् । यस पटक पनि आगामी वर्षकालागि भनेर पाँच करोड छुट्याएको छ । त्यो बजेट अपुग रहेको भन्दै चौतर्फी विरोध हुने गरेको छ । ओएमएन सर्वेकालागि प्रदेश सरकारमा फाईल गएपनि कहिल्यै कुनै मन्त्रालय, कहिल्यै कुनै मन्त्रालयमा अड्किने गरेको छ । त्यसले गर्दा अहिले अस्पताल विकास समिति आफैले एकसय ४४ बेड चलाइरहेको छ । अनुमति भने ५० बेड मात्रै छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ५ असार २०८२, बिहीबार ०८:३४ बजे