सासुआमाबाट ज्वाईलाई मिर्गौला दान

दंगीशरण, ३० जेठ ।
दाङकी ७८ वर्षीया पम्फि सुनारले आफ्ना ३४ वर्षीय ज्वाईंलाई मिर्गौला दान गरेर सासुआमा–ज्वाईं सम्बन्धको अनुपम उदाहरण प्रस्तुत गरेकी छन्। दाङको दंगिशरण–५ की पम्फि सुनारले एक वर्षअघि मिर्गौला दान गरेकी हुन्। हाल उनी तुलसीपुर उपमहानगरपालिका–८ दोगरेमा सञ्चालित प्रातःकालीन शारीरिक व्यायाम र जुम्बा डान्समा नियमित सहभागी हुँदै स्वस्थ जीवनशैली अपनाउँदै आइरहेकी छन्।

पम्फि सुनारका एक छोरा थिए, तर केही वर्षअघि मोटरसाइकल दुर्घटनामा उनको निधन भएको थियो। घोराहीबाट घर फर्कने क्रममा सेवारा खोलामा वर्षाको समयमा मोटरसाइकल चिप्लिएर ज्यान गएको थियो। पम्फि सुनारको सहारा उनका छोरीहरू हुन्, जसमा माइली छोरी गीता नेपालीले हाल आमा साथमा राखेर हेरचाह गरिरहेकी छिन्।

छोराको मृत्यु र ज्वाईं प्रकाश सुनारको दुबै मिर्गौला फेल भएपछि परिवारमा ठूलो संकट आएको थियो। काठमाडौं कलंकीमा बस्दै आएका प्रकाश हाल नियमित अस्पतालको निगरानीमा छन्। पाँच वर्षदेखि सुनचाँदी पसलमा काम गर्दै आएका उनी हाल उपचारको क्रममा काठमाडौंमा छन्।

‘मेरो ज्वाईंको अवस्था गम्भीर भयो भने मेरो सबैथोक गुम्छ,’ पम्फिले भनिन्, ‘छोरा त गुमाएँ, अब ज्वाईंको जीवन बचाउन सके जीवनको सार्थकता हुनेछ भन्ने सोचेर मिर्गौला दिएँ।’


उनी बिहान ५ देखि ६ बजेसम्म व्यायाम, प्राणायाम र जुम्बा डान्स गरेर आफ्नो स्वास्थ्यलाई सक्रिय राखिरहेकी छन्। ‘म स्वस्थ छु, म अझ धेरै वर्ष बाँच्न सक्छु,’ उनले मुस्कानसहित भनिन्।

डाक्टर किशोर खत्रीले सुरु गरेको स्वास्थ्य अभियानप्रति उनले आभार व्यक्त गरेकी छन्। त्यस्तै, ज्वाईंको उपचारका लागि उनले सहयोगको अपिल पनि गरेकी छिन्।

यदि तपाईं पनि पम्फि सुनार जस्तो मातृ माया र मानवता देखाउने यो उदाहरणीय कार्यमा साथ दिन चाहनु हुन्छ भने, सहयोगका लागि परिवारका सदस्य गीता नेपालीलाई ९८४८०६८७२१ मा सम्पर्क गर्न सकिन्छ।