
दाङ, ८ माघ ।
दाङको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालिन समयमा बाँकेको मालपोत अधिकृत हुँदा केसीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको हो ।
केसीसंग २२ लाख ४२ हजार ७ सय २० बिगो माग दावि गरिएको छ । अख्तियारले केसीसहित ९ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको अभियोगमा आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालिन मालपोत अधिकृतहरू ऋषिराम केसी र अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल, नायव सुब्बा कर्णबहादुर पुन, साविक बेतहनी गाविसका सचिव मानबहादुर बोगटी, डुडुवा गाउँपालिका–२ बस्ने लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई प्रतिवादी बनाएको छ ।
उनीहरूले बाँकेको साविक बेतहनी गाविस–४ ९क० मा रहेको कित्ता नम्बर २, ११ लगायतका जग्गा मिलेमतोमा गैरकानूनी ढङ्गले व्यक्तिका नाममा सारेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले केसी, खनाल र बोगटीसँग जनही २२ लाख ४२ हजार ७ सय २० रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै भट्टराई र पुनसँग जनही २० लाख ८७ हजार २ सय ५९ रुपैयाँ बिगो मागदाबी भएको छ । यस्तै कैरातीसँग २४ लाख ६७ हजार ७ सय २० रुपैयाँ र कुर्मीसँग १८ लाख ६२ हजार २ सय ५९ रुपैयाँ बिगो मागदाबी गरेको छ ।



लाइभदाङ । ९ माघ २०८२, बिहीबार २०:०७ बजे