
तुलसीपुर, २७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउनकालागि अभियान थालिएका छन् । मंगलबार मात्रै नगर प्रमुख टिकाराम खड्काको नेतृत्वमा बालमैत्री स्थानीय शासन समिति समेत गठन गरेको छ ।
नबजागरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोगमा मंगलबार तुलसीपुरमा भएको ‘बालमैत्री स्थानीय शासनका लागि सूचकहरूको अवस्था, योजना निर्माण र स्थिति पत्र प्रस्तुतीकरण’ कार्यक्रममा समिति गठन गरिएको हो ।
जसको सहसंयोजकमा उपप्रमुख स्यानी चौधरीसहित १९ वटै वडाका वडाध्यक्षहरु, सरोकारवाला निकाय, बाल क्लबलगायतलाई सदस्यमा राखिएको छ । उक्त समितिले एक बर्ष भित्र बालमैत्री नगर निर्माणकालागि काम गर्नेछ । सो अवसरमा बालमैत्री विज्ञ दुर्गालाल केसीले कार्यपत्र प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ सूचकहरू पूरा गर्नुपर्ने भएपनि हाल २६ वटा सूचक मात्र पूरा भएकोे बताउनुभयो । बाँकी २५ सूचक पूरा गर्न समितिले काम गर्नेछ ।
प्रतिवेदनले बालबालिकाको जन्मदेखि उनीहरूको अधिकार, सहभागिता, शिक्षा, स्वास्थ्यलगायतका पक्षमा सुधार आवश्यक रहेको औंल्याएको छ । टोल विकास संस्थाहरूबाट समस्या पहिचान र समाधानको काम थाल्नु पर्ने उनले बताए ।
उनका अनुसार बाल बचाउका १४ मध्ये ३ सूचक, बाल संरक्षणका १० मध्ये ७ सूचक, बाल विकास ६ सूचक मध्ये ५ सूचक पूरा भएका छन् । त्यस्तै बाल सहभागिताका ६ मध्ये ३ सूचक पूरा, संस्थागत विकासका १५ मध्ये ८ सूचक पूरा भएको उहाँले बताउनुभयो । लामो समयदेखि बालबालिका क्षेत्रमा काम गरिरहेको भएपनि उल्लेख्य रुपमा उपलब्धि भने हुन नसकेको न्यूसिपिसीका अध्यक्ष नबराज लामिछानेले बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण न्यूसिपिसीका महासचिब नानुमैया केसीले गरेकी थिइन ।



लाइभदाङ । २८ जेष्ठ २०८२, मंगलवार २२:३७ बजे