
दाङ, ११ फागुन ।
दाङका हरेक निर्वाचनमा लाग्ने एउटा नारा हो ‘टरिगाउँ विमानस्थल’ । जुन विमानस्थलको स्तरबृद्धिकालागि दाङका खासगरि २ र ३ नम्बर क्षेत्रका उम्मेदवारले हरेक निर्वाचनमा मुख्य एजेण्डा नै बनाउने गर्छन । यसरी टरिगाउँ एयरपोर्टलाई भजाउन थालेको २०४८ सालदेखि नै हो ।
त्यतिबेला देखि हुने संघीय होस् वा प्रदेश र स्थानीय तहको निर्वाचन नै किन नहोस्, हरेक बर्ष नारा लाग्ने गर्छ । तर, पनि त्यो एयरपोर्ट नारामा मात्रै सीमित बन्न पुगेको छ । न त त्यस्को स्तरबृद्धि नै भएको छ, न त सार्थक पहलकदमी नै हुन्छन् । जसले गर्दा यो एयरपोर्ट ओझेलमा पर्ने गरेको छ । अहिले यो विमानस्थलमा नियमित उडान छैन ।
धावन मार्ग सानो छ । २०११ सालमा स्थापना भएको उक्त विमानस्थलको लम्बाई ७ सय ५० मिटर मात्रै छ । त्यसलाई बढाएर १५ सय मिटर बनाउन सके मात्रै ७२ सिटे जहाज बस्न सक्छन्, र नियमित उडान पनि हुन्छ । जसले गर्दा अहिले १९ सिटे टुइनेटर जहाज मात्रै अवतरण गर्ने गर्छन । यसरी टरिगाउँ एयरपोर्ट नारामा मात्रै सीमित हुँदा यहाँका अगुवा चिन्तित छन् ।“०४८ सालदेखि यसरी नै नारा लाग्थ्यो, तर, उपलब्धी केही भएन”, नागरिक समाज दाङका पूर्वध्यक्ष टिकाराम रेग्मीले भने“यस्तै कारणले पनि जनतामा आक्रोस पैदा भएको हो ।”
३०÷३५ बर्षसम्म पनि नारा लगाउने तर, काम नहुँने प्रबृति हावी हुँदा त्यसको चपेटामा टरिगाउँ एयरपोर्ट पर्ने गरेको उनको भनाई छ । नेपालकै पुरानो मध्येको एयरपोर्टको हालत यस्तो हुँदा पनि चासो नदिनु गलत भएको उनको भनाई छ ।
टरिगाउँ एयरपोर्टको नारा यसरी लाग्छ
काँग्रेसबाट दाङ ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक गिरीले अहिले पनि यो नारा लगाईरहेका छन् । यद्यपी उनले त्यो नारा लगाउँदा केही लजाउछन् ।“मैले नारा लगाउँदा तपाईहरु लागी पनि गर्नुहुन्छ, तर मैले धेरै पहल गरेँ”,उनले भने“डीजी गलत हुँदा बजेट नै हालेनन् ।” त्यस्तै एमालेबाट उम्मेदवार बनेका घनश्याम पाण्डेले टरिगाउँ एयरपोर्टलाई ‘पाइलट सिकाई केन्द्र’ बनाउने भनि भाषण नै गर्थै । उनी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख हुँदा पाइलट सिकाई केन्द्र बनाउने नीति तथा कार्यक्रममा समेत समावेश गर्थे ।
अहिले पनि उनी उम्मेदवार हुँदा ब्यबस्थित बनाएर सञ्चालन गर्ने भन्ने कुरालाई एजेण्डा नै बनाएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका धनबहादुर मास्की(राजेश)ले आफू अर्थमन्त्री हुँदा मुख्यमन्त्री डिल्ली चौधरीसहित एयरपोर्टमै पुगेका थिए । जतिबेला पहल गर्ने प्रतिबद्धता जनाएपनि केन्द्र सरकार मातहत हुने हुँदा प्रदेशबाट बजेट हाल्न सम्भव भएको थिएन । अहिले पनि उनले आफूले अवसर पाउँदा उक्त ऐयरपोर्टलाई स्तरबृद्धि गर्ने कुराको प्रतिबद्धता जनाएका छन् । यद्यपी उनले यो एयरपोर्टको सन्दर्भमा धेरै नै चुनाबी नारा बनेकाले अवसर पाए‘धेरै नबोल्ने, अब काम गरेर नै देखाउने’ नीति अनुसार अघि बढेका छन् । रास्वपालगायत अन्य उम्मेदवारहरुले पनि एयरपोर्ट विस्तार गर्ने कुरालाई नै मुख्य नारा बनाउने गर्छन् ।
अहिले टरिगाउँ विमानस्थल विस्तार नहुँदा हावा लाग्दा होस्, वा हुस्सु लाग्दा पनि जहाज अवतरण गर्न सक्दैन । जहाज नियमित नहुँदा यात्रुहरुमा विश्वास पनि दिलाउन सकेको छैन । जसले गर्दा यस क्षेत्रका धेरै यात्रुहरु अहिले पनि भैरहवा वा नेपालगञ्ज जाने गर्छन् ।



लाइभदाङ । ११ फाल्गुन २०८२, सोमबार १२:०९ बजे