दाङमा पूर्व मुख्यमन्त्री, मन्त्रीसहित ५१ उम्मेदवारको जमानत जफत

दाङ,२६ फागुन ।
प्रतिनिधिसभा सदस्यको मत परिणाम अनुसार दाङका ५१ उम्मेदवारको जमानत जफत भएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा ६७ उम्मेदवार चुनाबी मैदानमा थिए । ति मध्ये ५१ जना उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।

उहाँका अनुसार जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत वाफत १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ । यदि १० प्रतिशत नल्याए त्यो रकम जफत हुन्छ ।

दाङ १ :१२ उम्मेदवारको जमानत जफत
दाङ क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी, एमालेका उम्मेदवार रेवतीरमण शर्मा, स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ । चौधरी यस अघि दुई पटक सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो, भने मन्त्री समेत हुनुहुन्थ्यो । तर, उहाँले यस पटक आफ्नो जमानत समेत जोगाउन सक्नु भएन । दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेको छ । जसको १० प्रतिशत ७ हजार ६ सय ३९ हुन्छ । तर,मेटमणीले ४ हजार नौसय ६५ मत मात्रै ल्याउनुभएको थियो ।

त्यस्तै एमालेबाट दाङ १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेवतीरमण शर्माको पनि जमानत जफत भएको छ । शर्माले ६ हजार ८ सय २५ मात्रै मत प्राप्त गर्नुभएको छ । उहाँ पूर्व लुम्बिनी प्रदेशसभा सदस्य समेत हुनुहुन्छ ।


त्यस्तै स्वतन्त्र उम्मेदवार बनेका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको पनि जमानत जफत भएको छ । केसीले एक हजार तीन सय ८४ मात्रै मत ल्याउनुभएको छ । केसीसहित सोही निर्वाचन क्षेत्रका १२ जनाको जमानत जफत भएको छ । सोही निर्वाचन क्षेत्रबाट रास्वपाका देवराज पाठक विजयी हुनुभएको थियो भने प्रतिस्पर्धी काँग्रेसका योगेन्द्र चौधरी हुनुहुन्थ्यो । उहाँहरु दुई जना बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।

दाङ: २ मा २० उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम अनुसार दाङ–२ मा २० जना उम्मेदवारको जमानत जफत भएको छ । दाङ–२ मा जम्मा सदरमत ७९ हजार चारसय ४० रहेकोमा सोही मतको १० प्रतिशत मत नल्याउने २० जनाको जमानत जफत भएको हो । जमानत जोगाउनकालागि ७ हजार ९ सय ४० मत ल्याउनु पर्छ । त्यो मत ल्याउनेमा एमाले महासचिब समेत रहेका शंकर पोखरेलले १५ हजार २ सय ८७ र काँग्रेसका किरण किशोर घिमिरेको ११ हजार ५ सय ५८ मत ल्याउनु भएको थियो । सोही निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन कुमार आचार्यले ४३ हजार ५ सय ५९ मत ल्याएर विजयी हुनुभएको थियो । त्यो बाहेक नेकपाका उम्मेदवार निर्मल आचार्यसहित २० जना उम्मेदवारले सोही मत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।

दाङ: ३ मा १९ उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम अनुसार दाङ क्षेत्र नं.३ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ । जम्मा सदर मत ८४ हजार ८ सय ४१ रहेकोमा जमानत जोगाउन ८ हजार ४ सय ८४ मत ल्याउनु पर्छ । सोही अनुसार काँग्रेसका दीपक गिरीले १६ हजार चारसय ५३, एमालेका घनश्याम पाण्डेले १२ हजार एकसय ९५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार तीनसय २८ मत ल्याउनुभएको थियो । सोही निर्वाचन क्षेत्रबाट रास्वपाका कमल सुवेदीले ४४ हजार दुइसय ८४ मत ल्याएर विजयी हुनुभएको थियो । त्यो बाहेक अन्य १९ जनाले १० प्रतिशत मत नल्याउँदा जमानत जफत भएको छ ।