बजेट फिर्ता पछिको नागरिकको विद्रोह

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित कालाखोलादेखि घुसेरी हुँदै गणेशपुर पार्क जोड्ने सडकमा टेन्डरको सूचना निकालियो । गएको वर्ष भदौ १७ गते ६४ लाखको टेन्डर आह्वान भएपनि त्यसपछिको प्रक्रिया भने केही पनि अगाडी बढेन । अहिलेसम्म त्यो टेन्डरको सूचनाले पूर्णता पाउन सकेन । आर्थिक वर्ष सकिनै लाग्दा पनि त्यो सडकमा काम हुने छाँटकाँट देखिदैन । त्यसरी सडक नबनेपछि स्थानीय आफैले सडक बनाए ।

त्यस्तै दाङ र रोल्पा जोड्ने विजौरी–होलेरी सडक खण्डको ग्वारखोलामा पुलकालागि एक करोड ३० लाख बजेट थियो । त्यो बजेट पनि आएन । त्यहाँको बजेट अन्तै गयो । लामो समयदेखि पुल नहुँदा बर्षादमा आवतजावतको समस्या मात्रै होईन्, मान्छे समेत बगायो । यस वर्ष त बजेट पनि आएकाले पुल बन्छ, की भन्ने स्थानीयको आशा थियो । तर, त्यो पुल बन्ने छाँटकाँट नदेखिएपछि आफै स्थानीयले श्रमदान गरेर पुल निर्माण सुरु गरे ।

यी त केही उदाहरण मात्रै हुन्। राजनीतिक खिचातानी, अस्थिर सरकारले एकातिर परेको बजेट, अर्को तिर सार्ने जस्ता कारणले विकसप्रति नागरिक आजित छन् । त्यसकै फलस्वरुप स्थानीय आफै विकास निर्माणका काममा जुटेका छन् । यो भनेको नागरिकको एक प्रकारको सचेत विद्रोह हो ।


जसको सरकार भएपनि परेको बजेटलाई अर्को तिर सार्ने कार्य न्यायोजित होईन् । अति आवश्यकता भएकै कारण परेका बजेट पनि एकातिरबाट अर्को तिर सार्दा त्यसले नागरिकमा वितृष्ण पैदा गर्दछ र सरकार तथा नेतृत्वप्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जान्छ । यसले समाजमा अराजकता फैलाउने काम गर्दछ । यस्ता कुरामा ध्यान दिनु नेतृत्वको अहिलेको आवश्यकता हो । साभारः अग्रिम साप्ताहिक