निस्वार्थ भावले सामाजिक काम गर्दा आत्म सन्तुष्टि मिलेको छः खत्री

सामाजिक अभियान्ता एवम् नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङका सदस्य  विरबहादुर खत्री (विरु)  संग समसामायिक  विषयमा  केन्द्रित रहेर पत्रकार अनिल अधिकारीले गरेका कुराकानी सारसंक्षेपमा ………….

स्वागत छ यहाँलाई !
धन्यवाद !
सन्चै हुनुहुन्छ ! आजभोली के मा व्यस्त हुनुहुन्छ ?
सन्चै छु हजुर !
सामाजिक कार्यमा मेरो व्यस्तता रहेको छ । समाजलाई गर्नुपर्ने योगदान गर्दै आएको छु । पारिवारिक जिम्मेवारीमा पनि मेरो व्यस्तता रहने गर्छ ।सामाजिक अभियान्ताको रुपमा क्रियाशिल रहदा कस्तो अनुभूति गर्नु भएको छ ?
निस्वार्थ भावले सामाजिक काम गर्दा आत्म सन्तुष्टि मिलेको छ । घरपरिवारको माया, अग्रजको आर्शिवाद र साथीभाईको हौसलाले सामाजिक कार्यमा अझ बढी लाग्ने प्रेरणा मिलेको छ । मन सन्तुष्ट र आनन्दित भएको छ ।

समाजमा सामाजिक उत्तरदायित्वका काम भन्दा पनि होहल्ला र होडवाजी चलेको देखिन्छ यसका पछाडी के कारण हुन सक्छ ?
हामीले भोगेको देखेको समाज भन्दा अहिलेको समाज भिन्नै छ । हिजोको दिनहरुमा माया सद्भाव देखिन्थ्यो भने एक आपसमा प्रेमील सम्बन्ध रहने गथ्र्यो । त्यसले सामाजिक एकता कायम गदथ्र्यो । अहिलेको समाजमा तछाड मछाड मात्र देखिन्छ । एक आपसमा होडवाजी देखिन्छ । यसले समाजलाई एकतावद्ध नबनाई विखण्डण तर्फ लगिरहेको छ यो सबैको चासोको विषय बन्न सक्नुपर्छ । सामजलाई केही योगदान गरौं भन्दा पनि आफु केन्द्रित काम गर्दा समाजमा होडवाजी देखिएको हो भन्ने मेरो बुझाई हो ।

समाज विग्रनुमा सबै भन्दा बढी दोषी कसलाई मान्नु हुन्छ ?
माया, सद्भाव र एकता नभएकै कारण समाज बिग्रिरहेको छ । यसै समाजमा म पनि एक किसिमको दोषी नै हुँ । समाजमा अगुवाहरुको अग्रणी भूमिका रहन्छ  । समाजलाई सही बाटो तिर हिडाउनु नै असल अगुवाको कर्तव्य हो । एउटा समाजलाई के कति योगदान गर्न सकिन्छ र त्यस समाजलाई कसरी सुन्दर समाज बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन नै नगरी मनपरी ढंगले काम गर्दा एउटा अगुवा कै कारण सिंगो समाज विग्रन पुग्छ । यस विषयमा सामाजिक क्षेत्रमा लागेका अगुवाहरुले ध्यान दिनु पर्छ जस्तो मलाई लाग्छ ।

राजनीति विशुद्ध सेवा हुनुपर्नेमा व्यापार जस्तो भयो भन्ने जन गुनासो छ, यसमा तपाईको भनाई के छ ?
राजनीति विशुद्ध सेवा नै हो तर पछिल्लो घटनाक्रमलाई हेर्दै जाने हो भने राजनीति प्रति आम नागरिकको असन्तुष्टि रहेको छ । राजनीति भित्र नातावाद, क्रिपावाद र अवसरवाद मौलाई रहेको छ । जनचाहना विपरित काम हुदै आएका छन् । अराजनीतिक व्यक्तिहरुको हालीमुहाली राजनीतिमा दिनानुदिन बढ्दो छ । यी यस्ता कुराहरुले राजनीतिलाई बदनाम गराईरहेको महशुस मैले गरेको छु ।


जनता राजनीतिक दलबाट वाक्क दिक्क देखिन्छन्, यसका पछाडी के कारण हुन सक्छन् ?
राजनीतिक दलबाट जुन अपेक्षा आम नागरिकले गरेका थिए सो अनुरुप काम हुन नसकेपछि दलहरु प्रति जनताको गुनासो बढ्दै गएको साँचो हो । कुशासन, भ्रष्टाचार दिन प्रतिदिन मौलाई रहेको छ, वेरोजगारको संख्या बढिरहेको छ, युवापंतिले देश छोड्ने क्रम जारी छ । दल र सरकारले जनचाहना अनुरुप काम गर्न सकि रहेको छैन । यस्तो अवस्थामा जनता वाक्क दिक्क हुनेनै भए । विचौलिया, अराजनीतिक र असामाजिक व्यक्तिहरुको हालिमुहाली राजनीतिक दल भित्र बढेका कारणले पनि जनता वाक्क दिक्क भएका हुन भन्ने मेरो बुझाई हो ।

राजनीतिक दलका नेतृत्व तहले कार्यकर्तालाई प्रोत्साहन गर्नुको साटो हतोत्साहित गरिरहेका छन् भन्ने गुनासोको विषयमा तपाईको भनाई के छ ?
एउटा राजनीतिक दल निर्माण गर्न ठूलो संघर्ष गर्नुपर्छ । हजारांै लाखौं कार्यकर्ताहरुको रगत पसिनाले एउटा राजनीतिक दलको जन्म भएको हुन्छ तर तिनै कार्यकर्तालई नेतृत्व तहले हतोत्साहित गरेकै कारण दल र नेतृत्व प्रति कार्यकताहरुले टिका टिप्पणी गर्न थालेका छन् । यस विषयमा नेतृत्व तहले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ र दलका नेतृत्व तह सुध्रिनुको विकल्प नरहेको मेरो बुझाई हो  ।

तपाईका सुभेच्छुकलाई केही भन्नु छ?
म भन्दा पनि हामी भन्ने परिपाटीको विकास गरौं । सामाजिक काममा हातेमालो गर्दै अघि बढौं । सकारात्मक सोचका साथ अघि बढियो भने अवश्य गन्तव्यमा पुग्न सकिन्छ भन्ने मेरो बुझाई हो । सामाजिक कार्यका लागि एकतावद्ध हुन म मेरा शुभेच्छुकलाई हार्दिक अनुरोध गर्दछु ।

अन्त्यमा ……………..?
मलाई समसामयिक विषयमा आफ्ना भनाईहरु राख्ने सुअवसर दिनु भएकोमा तपाई लगायत लाइभदाङ टिमलाई धन्यवाद ।