
दीपक बोहरा
दाङ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रविक्रम चन्द(विप्लव)ले चन्दा माग्दा–माग्दा जनताले हेप्न थालेपछि उत्पादनमा जोडिएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सोमबार भएको स्वागत तथा सम्मान कार्यक्रममा उनले पार्टीलाई आत्मनिर्भर मात्रै नभई राजनीतिक दललाई उत्पादनमा जोड्नु पर्ने कुराको सन्देश दिन यस्तो कार्य गरेको बताए ।
उनले दुई बर्षमा उल्लेख्य रुपमा उत्पादनमा प्रगति गर्न सफल भएको समेत बताए ।“चन्दा माग्दा–माग्दा जनताले पनि हेप्न थाले, जनताको करमा सरकार सञ्चालन गर्नेहरुले कर नै खान थाले, बाहिर रहेका हामीहरुले चन्दा माग्न थाल्यौं”,उनले भने“यसले गर्दा जनता आतिज भए, त्यसै हामी आत्मनिर्भर बन्नु पर्छ, भनेर उत्पादनमा जोडियौं ।”
अहिले काठमाडौंमा ब्यापार केन्द्र समेत सञ्चालन गरेको भन्दै आफूहरु फाइदामै रहेको बताए । पार्टी अब विगत जस्तो परनिर्भर नभएको समेत उनको भनाई थियो । त्यतिमात्रै होईन्, नेपालका उद्योगपती विनोद चौधरीको कम्पनीलाई आलु उत्पादन गरेर धेरै आलु उपलब्ध गराउने ठूलो इकाइ भएको समेत बताए ।“हामीले विनोद चौधरीलाई आलु दियौं, उहाँले सोँच्नु भएको रहेछ, कम्युनिष्ट हुन्, २०÷३०हजार किलो आलु देलान”,उनले भने“तर, हामीले २ लाख किलो उपलब्ध गरायौं, यो अहिलेसम्मकै धेरै सप्लाई गर्ने ठूलो इकाइ हामी बन्यौं ।”
नेपालमा उत्पादनको संस्कार आबश्यक रहेको समेत बताए । युवा पुस्ता विदेश गएर जस्तो पनि काम गर्न सक्ने तर, नेपालमा केही नगर्ने प्रबृतिले पनि नेपालका उत्पादन प्रणालीले फड्को मार्न नसकेको उनको भनाई थियो ।“ युवाहरु नेपालमा केही नगर्ने तर, विदेशमा जस्तो पनि काम गर्न तयार हुनुहुन्छ”,उनले भने“त्यसले गर्दा देशले आर्थिक मार्ग पकड्न सकेको छैन । १०/ २०बर्ष दुःख नगरे कसरी बन्छ । नेताहरुका छोराछोरी नै विदेश छन्, विदेश पढ्न त जानु प¥यो, तर, पढिसकेपछि नेपाल फर्काउनु प¥यो ।”
उनले राजनीतिलाई अर्थतन्त्रसंग जोड्नु पर्ने समेत बताए । साथै उनले मुलुकमा भ्रष्टाचार झन–झन ब्याप्त हुँदै गएको समेत बताएका छन् । अहिलेका गृहमन्त्रीको समेत नाम जोडिएर आउनु, पोखरा एयरपोर्टको घोटाला जस्ता कुराले मुलुकमा भ्रष्टाचारको जालो झनझन बढ्दै गएको बताए । उनले भने“नेपालमा तेस्रो भेरियन्टको भ्रष्टाचार मौलाएको छ ।”
साथै उनले नेपालका कम्युनिष्ट पार्टीहरु समेत एक हुनुपर्ने कुरामा आफूहरु लागिरहेको बताए । माओवादीहरु पनि एक हुने र समग्र कम्युनिष्ट नै एक हुने गरि आफूहरुले पहल लिइरहेको समेत उनले बताए । तर, अहिल्यै माओवादीहरु एक हुने समय भने आइनसकेको उनको भनाई छ ।



लाइभदाङ । १३ जेष्ठ २०८२, सोमबार २३:२४ बजे