
दीपक बोहरा
दाङ, ६ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ रजौरामा निर्माणाधिन घरको ट्याङ्कीमा मृत भेटिएका दुई दाजुभाइको शव परिवारले बुझेको छ । सल्यान शारदा नगरपालिका वडा नं. १५ हुरहुरे घर भई तुलसीपुर ९ दोघरे बस्दै आएका ठेकेदार ३८ बर्षीय कमल गिरी र सोही ठाउँ निवासी मिस्त्री ४० बर्षीय घनश्याम गिरीको शवलाई परिवारले बुझेको हो ।
प्रहरीका अनुसार उनीहरु ठेक्का लिएर घर बनाउने गर्थे । मंगलबार उनीहरु लक्ष्मीनारायण मन्दिरको अर्को घर समेत निर्माण गरिरहेका थिए । त्यही क्रममा ढलान अड्डाउने(सेट्रिङ्ग) निकाल्न भनि आफूहरुले निर्माण गर्दै गरेको तुलसीपुर ६ रजौरा स्थित कमल पोखरीदेखि उत्तर तर्फको घरमा आएका थिए ।
त्यहाँ पानी ट्याङ्कीमा रहेको ‘सेट्रिङ्ग’ निकाल्न भनि दुबै जना पानी ट्याङ्कीा पसेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । स्थानीयले समेत मंगलबार ५ बजेतिर निर्माणाधिन अबस्थामा रहेको त्यही घर आसपास देखेको प्रहरी समक्ष बताएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीका अनुसार मंगलबार ५ बजेतिर उनीहरु ट्याङकीमा पसको हुन सक्ने अनुमान गरिएको छ ।
त्यहाँ उनीहरुले भ¥याङ पनि लिएका छैनन् । त्यसैले केही समय ट्याङ्की भित्रै रहेको पछि निसासिएर मृत्यु भएको हुन सक्ने उनले बताए । उनीहरु त्यहाँ पसेको कसैले पनि थाहा पाएका थिएनन् ।
विहान मात्रै त्यहाँ दुईवटा मोटरसाईकल बेवारिसे अबस्थामा देखिएको थिए। ति मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । त्यतिबेलासम्म पनि घटनाका बारेमा थाहा थिएन । विहान १० बजे तिर मात्रै स्थानीयले दुईजना ट्याङ्की भित्र रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ट्याङकी फुटाएर करिब दुई घण्टा पछि उनीहरुको शव निकालेको थियो । उनीहरुको शरिरमा कुनै पनि चोट पटक नभएको समेत प्रहरीको भनाई छ ।
उनीहरु दुबै जना दाजुभाइका छोराहरु हुन् । निर्माण भइरहेको घर मनिराम चन्दको रहेको छ । उनी तुलसीपुरको ब्यबसायी हुन् ।



लाइभदाङ । ६ श्रावण २०८३, बुधबार २०:५९ बजे