ठेक्का लिएर घर बनाउने गिरी दाजु–भाईको पानी ट्याङ्कीमा निसासिएर मृत्यु

दीपक बोहरा
दाङ, ६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ रजौरामा निर्माणाधिन घरको ट्याङ्कीमा परेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर ९ दोघर निवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कमल ठेकेदार हुन्, भने घनश्याम मिस्त्री हुन् ।

उनीहरु दुबै जनाले यसरी घर ठेक्का लिएर काम गर्ने गर्थे । उनीहरु दुबैजना दाजु-भाइका छोराहरु हुन् । 

उनीहरु पानी ट्याङ्कीको सेट्रिङ निकाल्न गएको अबस्थामा निसासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । त्यहाँ भ-याङ नहालेरै गएकाले निक्लिन समस्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । 

स्थानीयले उनीहरु पानी ट्याङ्कीमा रहेको भन्ने थाहा पाएपछि बुधबार विहान प्रहरीलाई खबर गरेका थिए । 


राति उनीहरुको मोटरसाईकल समेत त्यही स्थानमा बेवारिसे अबस्थामा थियो ।

त्यो मोटरसाईकल प्रहरीले विहान मात्रै बरामद गरेको थियो । 

यद्यपी यस विषयमा अनुसन्धान भइरहेको छ । हाल उनीहरुलाई निकाल्ने काम भइरहेको छ । ट्याङ्की फोडेर निकाल्न लागिएको छ । 

निर्माण भइरहेको घर मनिराम चन्दको रहेको खुलेको छ । उनी तुलसीपुरका ब्यबसायी हुन् ।