
दीपक बोहरा
दाङ, ०७ साउन ।
समाजमा जकडिएर बसेको अन्धविश्वास, दाइजो प्रथाको कारुणिक पीडा, युवा पुस्तामा बढ्दो कुलतको जालो र अभावका बीचमा पनि देखिने सफलताका सपनाहरू– यी र यस्तै गम्भीर सामाजिक मुद्दाहरू ‘लक्ष्यका कथाहरू’ कथा संग्रहमा थिए ।
दाङको तुलसीपुर ६ स्थित लक्ष्य एकेडेमीका ६७ जना विद्यर्थीले आफ्ना सिर्जनामार्फत समाजको यथार्थ ऐना उतार्ने प्रयास गरेका छन्, जहाँ कलिला मस्तिष्कले देखेका र भोगेका सामाजिक विसंगतिहरुलाई सशक्त ढङ्गले उठाइएको छ।
यस संग्रहभित्रका कथाहरूले समाजको लुकेका तीता यथार्थलाई उजिल्याएका छन् ।
कक्षा १० का रमेश पुन मगर ‘अन्धविश्वासको अन्त्य’ र कक्षा १० कै हिमाल थापाले ‘भूत र झाँक्री एउटै’ कथामार्फत समाजमा व्याप्त बोक्सी प्रथा र ढोंगी झाँक्रीहरूको ठगी धन्दामाथि कडा प्रहार गरेका छन् ।
त्यस्तै, कक्षा १० कै निशा घर्तीको ‘सासू–ससुरा बदलिए’ र कक्षा १० कै दिव्यांशी केसीको ‘दाइजो प्रथा’ ले दाइजोका कारण बुहारीले भोग्नुपर्ने हिंसा र त्यसको अन्त्यका लागि चेतनाको आवश्यकतालाई जोड दिएका छन् ।
युवा पुस्तामा बढ्दो लागूऔषध र मद्यपानको नकारात्मक असरबारे कक्षा ८ की यमुना छिनाल को ‘कुलतको बाटो’ र कक्षा ८ का सलोन खड्काको ‘मद्यपानले परिवारमा पारेको असर’ ले गम्भीर चेतावनी दिएका छन् ।
कक्षा ८ की विन्दू खाँडको ‘पीडा र अभावबिच फुलेका फूल’ र कक्षा ७ का समीर देवकोटाको ‘महिनेत र सपनाको संगम’ जस्ता कथाहरूले पाठकलाई प्रेरणा दिन्छन् ।
पुस्तक विमोचनको विशेष समारोहमा विद्यार्थीहरुले आफ्ना अनुभवहरु समेत पेश गरेका थिए । विन्दु खान ठकुरी, अनु विष्ट, अन्जु वली, मालिका पुन र रमेश पुन जस्ता कलिला सर्जकहरूले कथा लेख्दाका आफ्ना अनुभव र अनुभूति साझा गर्दै सिर्जना सुनाउँदा उपस्थित सबै भावुक बनेका थिए।
विद्यालयका प्रधानाध्यापक लोकेन्द्र खड्काका अनुसार, प्रविधिको बढ्दो प्रयोगले हराउँदै गएको पठन र लेखन संस्कृतिलाई जोगाउन र विद्यार्थीको सिर्जनात्मक क्षमता प्रस्फुटन गराउन यो संग्रहले महत्वपूर्ण भूमिका खेलेको छ। यी कथाहरूले केवल विद्यार्थीको प्रतिभा मात्र होइन, उनीहरूले परिकल्पना गरेको सभ्य र सचेत समाजको चित्र पनि प्रस्तुत गरेका छन् ।
विद्यालयका प्रिन्सिपल खड्काको अध्यक्षता एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला अध्यक्ष भोजराज न्यौपानेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि शर्माले स्कुले जीवनदेखि नै बालबालिकालाई कथा लेखनमा प्रेरित गर्दा उनीहरूमा अध्ययन गर्ने बानीको विकास हुने विश्वास व्यक्त गरे ।
यस्तै, नेशनल प्याब्सन दाङका अध्यक्ष न्यौपानेले साहित्य र सिर्जनात्मक लेखनका माध्यमबाट बालबालिकाको बौद्धिक विकास हुने र यसले देशका लागि योग्य जनशक्ति तयार पार्न मद्दत पुग्ने धारणा राखे ।
त्यस्तै कथाकार तथा प्रशिक्षक विजयराज आचार्य र पुस्तक समीक्षक बसन्त आचार्यले बालबालिकाभित्र लुकेको प्रतिभा बाहिर ल्याउन कथा लेखन सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । त्यस अवसरमा नेशनल प्याब्सन दाङका सचिव हरिप्रसाद भण्डारी, त्रिदेव इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मनोज हमाल, अभिभावक तेजबिक्रम खान ठकुरी र पत्रकार दीपक बोहराले रचनात्मक अभ्यासले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउने कुरामा जोड दिए ।
विद्यालयका सहायक प्रधानाध्यापक सम्झना खड्का केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार आशिष केसीले गर्नुभएको गरेका थिए ।



लाइभदाङ । ७ श्रावण २०८३, बिहीबार ०७:०१ बजे