
तुलसीपुर, ५ साउन ।
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा स्कुलले लागूऔषध दुर्व्यसन रोकथाम विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
तुलसीपुर–९ स्थित मेट्रो होटलमा आयोजित कार्यक्रममा नार्कोनन नेपालका लुम्बिनी प्रदेश संयोजक बसन्त पुनले लागूऔषध दुर्व्यसन नेपालका लागि गम्भीर सामाजिक चुनौती बन्दै गएको भन्दै यसको रोकथामका लागि परिवार, विद्यालय, समुदाय र राज्यको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
उहाँले २०७६ सालको तथ्याङ्कअनुसार नेपालमा अवैध लागूऔषध सेवनकर्ताको संख्या १ लाख ३० हजार ४३४ रहेको, जसमध्ये १ लाख २१ हजार ६९२ पुरुष र ८ हजार ७३२ महिला रहेको जानकारी दिनुभयो। वार्षिक वृद्धि दर ५.६ प्रतिशत रहेको उल्लेख गर्दै समयमै सचेतना नफैलाए समस्या झन् जटिल बन्ने चेतावनी दिनुभयो।
पुनले लागूऔषधको एकपटकको प्रयोगले पनि व्यक्तिको शिक्षा, स्वास्थ्य, परिवार र भविष्यमा गम्भीर असर पर्ने भएकाले खराब संगत, देखासिकी वा दबाबमा परेर यस्तो कुलतमा नफस्न विद्यार्थीलाई आग्रह गर्नुभयो। साथै, साथी लागूऔषधको कुलतमा फसेको थाहा पाए परिवार, शिक्षक वा सम्बन्धित निकायलाई जानकारी गराउन पनि उहाँले सुझाव दिनुभयो।
विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले विद्यार्थीलाई कार्यक्रममा प्राप्त ज्ञान घर–समाजसम्म पुर्याउन आग्रह गर्दै लागूऔषधमुक्त समाज निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



लाइभदाङ । ५ श्रावण २०८३, मंगलवार २१:५५ बजे