
दाङ, ७ साउन ।
दाङ तुलसीपुर स्थित सञ्चार उद्यमी देविप्रसाद धिताल(हेमराज) हत्याकाण्डको १६ बर्षपछि न्याय पाउने आशा गरिएको छ । अहिले केन्द्रीय अनुसन्धान ब्यूरोले शुष्मा ढंगले अनुसन्धान गरिरहेको भन्न सूचना पाएपछि परिवारले न्याय पाउने आशा गरेका छन् ।“ छोरो आउने छैन, छोरोलाई मारिसके, अब हत्यारो छिटो पत्ता लगाएपछि शान्त हुन्थ्यो कि भन्ने छ, हत्यारो छिटै पत्ता लागोस”, आमा रेवता धितालले भनिन्“ अब यो सरकारले गर्छकी भन्ने ठूलो आशा छ । छोरोको हत्या छिटो पत्ता लगाईदिओस , अर्को सालमा पत्ता लाग्यो भन्ने कुरा गर्नपाउँ ।”
त्यस्तै त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले पनि हत्यारा सार्वजनि भए मात्रै धितालको आत्मले शान्ति पाउने बताए । सधै नजिक छ, भन्ने बाहेक केही पनि उपलब्धी नभएको अबस्थामा फाइलको अनुसन्धानको प्रक्रिया अघि बढेको भन्ने सूचना प्राप्त भएकाले केही आशा पलाएको उनले बताए । बुधबार १६ स्मृति दिवस मनाईरहदा उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रहरी स्रोतका अनुसार हाल शंकास्पद ब्यक्तीमाथि अनुसन्धान भइरहेको छ । पछिल्लो पटक मात्रै धेरै त्यस्ता ब्यक्तीको बयान लिइसकेको छ । यस अघि भएका कुनै पनि अनुसन्धानले सार्थकता नपाएपछि ब्यापक आलोचना हुने गरेको थियो ।
धितालको २०६७ साउन ६ गते हत्या गरिएको थियो । तत्कालिन अबस्थामा काँग्रेस महाधिवेशन प्रतिनिधिकालागि निर्वाचनको चहलपहल थियो । त्यही क्रममा धितालपनि चुनाबी दौडमै थिए । साविक उरहरी गाविसबाट महाधिवेशन प्रतिनिधिको चुनाबमा होमिने तयारी गरेका धितालको हत्या भएको थियो ।
यसरी भएको थियो हत्या
घटना ६ साउन २०६७ मा भएको हो । तत्कालिन अबस्था नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनले तातिएको थियो । निर्वाचनकै क्रममा सोही दिन बिहान खाना खाएर धिताल उरहरी गए । आफ्ना कार्यकर्ता कान्ताराम वलीलाई संगै लिएर मोटरसाइकलमा उरहरी गएका उनले दिनभर आफ्ना कार्यकर्तासंग भेटघाट गरे । जब बेलुकी पख भयो, उनी घर फर्किने तरखरमा थिए । साविक उरहरी ४ हाल तुलसीपुर १२ को हेमनगर जसपुर स्थित राप्ती लोकमार्गको छेउमै रहेको एक स्थानीयको घरमा गफ गरिरहेको अबस्थामा संगै गएका कान्तरामलाई कतैबाट फोन आयो । त्यो फोनमा कहाँ भनि उनको ‘लोकेशन’ सोधिएको थियो । त्यसपछि हेमराज घरबाट निस्किन खोजे । तर, सुर्ति खाने बाहानामा कान्तरामले अल्मल्याउन थाले । श्रीमति मन्जु कडेँलका अनुसार हेमराज मोटरसाईकल चढेर स्टार्ट गर्न पनि खोजे । तर, त्यो मोटरसाईकलको ‘प्लग’ समेत निकालिएको रहेछ, त्यसपछि उनको मोटरसाईकल स्टार्ट भएन । त्यही क्रममा आज्ञात समूह आएर उनीमाथि लखेटी–लखेटी गोली प्रहार भयो । गोली प्रहार भएपछि उनलाई उपचारकालागि तत्कालिन राप्ती अञ्चाल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
गिरीको नेतृत्वमा बनेको थियो अनुसन्धान टोली
तत्कालिन अबस्थामा प्रहरीले कान्तरामलगायत ब्यक्तीलाई पक्राउ गरि अनुसन्धान पनि गरेको थियो । परिवार किरिया बसिरहेकै अबस्थामा ९० प्रतिशत अनुसन्धान भइरहेको भनि प्रहरीले बताएको थियो । तर, त्यो अनुसन्धानले अहिलेसम्म पनि पूर्णता पाएको छैन । प्रहरी स्रोतका अनुसार त्यो अनुसन्धानको रिपोर्ट नै अल्मल्याउने खालको छ ।‘अनुसन्धान नै गन्जागोल जस्तो छ’, स्रोतले भन्यो । धितालको हत्याबारे अनुसन्धान गर्न जिल्ला प्रहरीका तत्कालीन डीएसपी लक्ष्मण गिरीको संयोजकत्वमा एक विशेष अनुसन्धान टोली गठन भएको थियो । पटक–पटक केन्द्रबाट पनि उच्च प्रहरी अधिकारीहरू आएका थिए । तत्काल सीआईबीको टोली पनि घटनास्थल आएको थियो । घटनालगत्तै तत्कालीन एआईजी किरण गौतमको संयोजकत्वमा अनुसन्धान टोली पनि खटाएको थियो । तर केही प्रगति भएन । घटनाबारेको विस्तृत अनुसन्धान फाइल ब्युरोमा पठाएको र ब्युरोबाटै अनुसन्धान भइरहेको छ । २०७४ माघदेखि केन्द्रीय अनुसन्धान ब्युरोले फाइल लिएर अनुसन्धान गरिरहेको छ ।
धिताल तत्कालिन अबस्थामा रेडियो तुलसीपुर सञ्चालक समितिका अध्यक्ष थिए । यातायात व्यवसायी र निर्माण व्यवसायी पनि थिए, भने नेपाली सेनालाई रासन आपूर्तिको काम पनि गर्थे । उनको धेरै ठाउँमा कारोबार भएकाले पनि घटनाको विषयमा अनुसन्धान गर्न कठीनाई भएको तत्कालिन अबस्थाका अनुसन्धान अधिकृतहरुले बताउने गरेका छन् ।



लाइभदाङ । ७ श्रावण २०८३, बिहीबार ०७:१४ बजे