स्थानीय आफैले बनाउन थाले खोलामा पुल  

तुलसीपुर, ७ जेठ ।
दाङ–रोल्पा सडक खण्ड अन्तर्गत विजौरी–होलेरी सडक खण्डबीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्षातमा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको ब्यापारिक थलो भनेकै दाङको विजौरी हो । त्यति मात्रै होइन्, विरामी पर्दा, उच्च शिक्षाकालागि विद्यार्थी पनि त्यही बाटो आउनु पर्छ । तर, त्यो ग्वारखोलामा मोटरेवल पुल नहुँदा बर्षादमा आवतजावतमा निकै समस्या पर्ने गर्छ, भने  वर्षेनी मानिस पनि बगाउने गर्छ । त्यो सडकबीचको ग्वारखोलामा पुल निर्माणकालागि मात्रै चालु वर्षमा एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेट अनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो । “अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने थियो”, स्थानीय प्रशान्त पुनले भने “त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ ।”

२०७० सालमा त्यो सडकको ट्रयाक खोलिएको भएपनि १२ वर्षसम्म पनि पुल नबनेपछि स्थानीय आफैले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाईकल हिड्न सक्ने गरि पुल निर्माण सुरु गरिएको उनले बताए । “बर्षा आउँदैछ, हिड्नलाई पुल छैन,आएको बजेटले पनि काम हुँदैन”,उनले भने “वर्षादमा दुःख विरामी पर्दा अस्पतालसम्म लिने त हुनु प¥यो, त्यही भएर आफै स्थानीय श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौं ।”

सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफै गर्न लागेको स्थानीय लालबहादुर पुनले बताए । “हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग संकलन गरेर काम अगाडी बढाइरहेका छौं”,उनले भने “सबैले सहयोग गरे काम सम्भव पनि छ ।” स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनु पर्ने अवस्था रहेको उनको भनाई छ ।

सरकारले बाटो बनाए पनि पुल नबनाउँदा यसरी सास्ती खेप्नु परेको उनको गुनासो छ । पुल नबन्दा ६ उक्त सडक सूचारु हुने र ६ महिना ठप्प हुने अवस्था आएको उनले बताए ।


रुकुमको चुनबाङसम्म समेत जोड्ने उक्त सडकको स्तरबृद्धिकालागि पटक–पटक सम्बन्धित निकायमा गएको भएपनि सुनुवाई नभएको दाङ स्थित विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले बताए । यदि सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने समेत बताए । उक्त सडक विस्तार भएमा ब्यापरिक हिसाबले पनि फाईदा पुग्ने उनको भनाई छ । सोही सडकमा पुल निर्माणकालागि पहललाई निरन्तरता दिने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

विजौरीदेखि होलरीसम्म २९ किलोमिटर छ । त्यो मध्ये होलेरीदेखिको क्षेत्रमा ५ किलोमिटर र विजौरीदेखि ९ किलोमिटर सडक कालोपत्रे समेत भइसकेको छ । बाँकी १५ किलोमिटर सडक स्तरबृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका वडा नंं.८ का वडाध्यक्ष तुलसी पुन मगरले बताए । “बीचमा बाटो स्तरबृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन”,उनले भने “त्यसले गर्दा आवतजावतमा निकै कठीनाई हुने गरेको छ ।” साभारः अग्रिम साप्ताहिक