टरिगाउँ एयरपोर्टमा बजेटको ब्यबस्था भएको छ : सांसद अपार

तुलसीपुर
१२ जेठ / राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा बजेटको ब्यबस्थापन भएको बताएका छन् । आगामी आर्थिक बर्ष २०७९/०८० कालागि अर्थमन्त्रीद्वारा उक्त बजेट ब्यबस्थापन भएको बताएका छन् ।

अहिले नीति तथा कार्यक्रममा एयरपोर्टलाई बेवास्था गरिएको भनि आलोचना हुने गरेको छ । तर, एयरपोर्टकालागि बजेटको ब्यबस्था भएकाले त्यसमा कुनै शंका नगर्न अपारले सबैमा आग्रह समेत गरेका छन् । आगामी बजेटमा दाङका धेरै स्थानको विकासकालागि करोडौंको बजेट आएको समेत उनले बताए ।


उनका अनुसार राप्ती लोकमार्ग, दाङ–सुर्खेत सडक खण्ड, बबई ट्वाङखोला हुँदै गंगटेसम्मको सडक स्तरोन्नती, फुलवारीको बराखुट्टी हुँदै साजखुट्टी जोड्ने सडक, तुलसीपुरदेखि कल्ले,बल्ले जोड्ने सडकको स्तरबृद्धि, शान्तिनगर २ को शहीद मार्ग कालिदमार हुँदै सल्यान कालापोखरा जोड्ने सडक कालोपत्रेकालागि बजेट ब्यबस्थापन गरिएको उनले बताए ।

त्यस्तै तुलसीपुरमा कोल्ड स्टोर स्थापनालगायत खेलकुद,पर्यटन,कृषि, शिक्षा, स्वास्थ्यसहित हरेक क्षेत्रकालागि बजेट ब्यबस्थापन भएको भन्दै भ्रममा नपर्न सबैमा आग्रह गरे ।