सरकारी कर्मचारीलाई सांकेतिक भाषा तालिम

दाङ, १ जेठ । दाङको तुलसीपुरमा एक महिने नेपाली सांकेतिक भाषा तालिम सुरु भएको छ । राप्ती बहिरा संघ दाङको आयोजना तथा तुलसीपुुर उपमहानगरपालिकाको सहयोगमा शुक्रबारदेखि तालिम सुरु भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका विभिन्न शाखा, राप्ती प्रादेशिक अस्पताल, प्रहरी, प्रशासन, जिल्ला प्रशासन, पत्रकार लगायतका क्षेत्रबाट सांकेतिक भाषा तालिममा सहभागिता रहने छ ।

सरकारी कार्यालयमा जाँदा होस, वा अन्य ठाउँमा जाँदा कसैले पनि सांकेतिक भाषा नबुझ्दा सेवा लिन पनि समस्या हुने गरेको भन्दै यो तालिम आयोजना गरिएको संघका अध्यक्ष अजय कुमार शर्माले बताए ।“हामीले बोलेको कुरा न त सरकारी कार्यालयका कसैले बुझ्नु हुन्छ, न त समाजले बुझ्छ”, उनले सांकेतिक भाषामा भने “त्यसैले यो तालिम आयोजना गरिएको हो ।”


सांकेतिक भाषा नबुझ्दा न्यायमा पनि सुस्त श्रवन भएकाहरुलाई गाह्रो हुने गरेको बताए । बोल्नेहरुका कुरा नै विश्वास गर्ने र सुस्तश्रवन भएकाहरुको कुरा नबुझ्ने हुँदा पनि न्याय समेत पाउन नसकेको उनको भनाई छ । साथै उनले सुस्त श्रवन भएकाहरुलाई सवारी चालक अनुमति पत्र पनि दिनुपर्ने बताए । यसलाई कानुनी रुपमा ब्यबस्था गर्नुपर्ने उनको भनाई छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकासँग सांकेतिक भाषालाई साझेदारी भाषाका रुपमा विकास गर्ने बताए । सांकेतिक भाषा सिक्दा रोजगारको पनि अवसर हुने तथा सुस्त श्रवन भएकाहरुलाई पनि न्याय दिन सकिने बताए । तालिम हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

राप्ती बहिरा संघ दाङका निर्देशक प्रतिमा शर्माले तालिमबारे जानकारी दिएकी थिइन्, भने प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बसन्ती वलीले गरेकी थिइन ।