
तुलसीपुर, २४ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकामा आजदेखि नापतौल उपकरणको जाँच तथा प्रमाणीकरण शिविर सुरु भएको छ। गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविर तीन दिनसम्म सञ्चालन हुने छ ।
नगर क्षेत्रका व्यवसायीहरूको सहुलियतका लागि घर-आँगनमै सेवा दिने उद्देश्यका साथ सुरु गरिएको शिविरमा व्यवसायमा पारदर्शिता, उपभोक्ता अधिकारको संरक्षण र व्यापारिक विश्वसनीयता कायम गर्नु रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जानकारी दिए ।
शिविरमा ढक, तराजु, लिटर, मिटरजस्ता नापतौल उपकरणहरूको जाँच, परीक्षण तथा प्रमाणीकरण गरिनेछ। संघका अध्यक्ष केसीले कानुन अनुसार सबै व्यवसायीले आफ्नो नापतौल उपकरण नियमित परीक्षण गराउनुपर्ने भएकाले यस अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।
“शिविरमार्फत व्यवसायीहरूलाई सजिलो हुने मात्र होइन, उपभोक्ताको विश्वास जित्ने मार्ग पनि खुल्नेछ,” अध्यक्ष केसीले भने, “यसले स्थानीय व्यापार प्रणालीलाई अझ विश्वासिलो र पारदर्शी बनाउनेछ।”
शिविरको पहिलो दिनमै नगरका दर्जनौं व्यवसायीहरूले आफ्नो उपकरण परीक्षण गराएका छन्। नापतौल कार्यालयका प्राविधिक टोलीले उपकरणको मापदण्ड अनुसार परीक्षण गरी प्रमाणपत्र वितरण गर्ने कार्य गरिरहेका छन्।
शिविरको सेवाबाट व्यवसायीहरू सन्तुष्ट देखिएका छन्। “पहिले नेपालगञ्ज जानुपर्थ्यो, अब भने घरमै सेवा पाइयो,” एक स्थानीय व्यवसायीले प्रतिक्रिया दिँदै भने, “यसले समय र खर्च दुवै बचत भएको छ।”
शिविर आगामी दुई दिनसम्म पनि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। संघले सबै व्यवसायीहरूलाई समयमै उपकरण परीक्षण गराई प्रमाणित गर्न पुनः आग्रह गरेको छ।



लाइभदाङ । २४ बैशाख २०८२, बुधबार २१:४९ बजे