घर–घर पुगेर वृद्ध भत्ता दिन्छौं : अध्यक्ष बुढाथोकी

प्रिया स्मृती गजमेर
दाङ, २५ भदौ ।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले सामाजिक सुरक्षा भत्ता अबदेखि गाउँ–गाउँ पुगेर प्रदान गर्ने भएको बताएका छन ।

अपांग, अशक्त, वृद्धवृद्वाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै घर–घर पुगेर भत्ता प्रदान गर्न लागेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

“दुई/तीन दिन लगाएर भत्ता लिन आउनु पर्ने अवस्था छ, वर्षाले बाटोघाटो बिगारेको छ, आवतजावत गर्नमा निकै समस्या छ, त्यसकारण पनि हामीले घरमै पुगेर भत्ता दिने योजना बनाएका हौं” –अध्यक्ष बुढाथोकीले भने ।


“अब केही दिन लगत्तै यो अभियाननै चलाउने भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी हामी भत्ता रकम लिएर तपाईंको घर दैलोमा आउँदै छौं भनेर सबै वडाका भत्ता लिने मानिसलाई जानकारी गराई सकेका छौं”–उनले भने ।

दाङको राजपुर गाउँपालिका जिल्लाकै बिकट पालिका हो । नेपाल भारत सिमा क्षेत्र सम्म फैलिएको यो पालिकामा अझै सम्म यातायात, शिक्षा, खानेपानी, स्वास्थ्य जस्ता अत्यावश्यक सेवा सुविधाको प्रत्याभूत गर्न पाएका छैनन ।

गाउँपालिका अध्यक्ष बुढाथोकी भन्छन – “भौगोलिक हिसाबले अत्यन्तै दुर्गम छ, थोरै रकमले आयोजनाको काम गर्न गाह्रो छ, तर प्रदेशदेखि केन्द्रसम्म घच्घच्याउने काम चाहिँ भैरहेको छ। मेरो कार्यकालमा पालिकावासीले सम्झिने लाएक काम गर्नु छ”– बुढाथोकीले भने ।