देउखुरीलाई ‘देउखुरी महानगरपालिका’ उन्मुख बनाउनुपर्नेमा जोड, एकीकृत सेवा प्रणाली आवश्यक-डाँगी

प्रिया स्मृती गजमेर
देउखुरी,१८ चैत ।
दाङ –लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले देउखुरी क्षेत्रका चारवटै स्थानीय तहलाई एकीकृत गर्दै ‘देउखुरी महानगरपालिका’ निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

राप्ती गाउँपालिकाले आयोजना गरेको देउखुरी उपत्यकाभित्रका स्थानीय तहहरूबीचको अन्तर–समन्वय बैठकमा बोल्दै डाँगीले हाल विद्यमान पालिकागत संरचनालाई दीर्घकालीन रूपमा पुनर्संरचना गर्दै एकीकृत सेवा प्रणाली विकास गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

उहाँका अनुसार अहिलेका पालिकाका मुख्य प्रशासनिक भवनहरूलाई क्रमशः वडा कार्यालयका रूपमा रूपान्तरण गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ । “पालिका पिच्छे सेवा विस्तार गर्नुको सट्टा एकीकृत र प्रभावकारी सेवा प्रणाली विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो ।


डाँगीले सर्पदंश उपचार केन्द्रजस्ता सेवा प्रत्येक पालिकामा छुट्टाछुट्टै सञ्चालन गर्नुको सट्टा एकै स्थानमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसले सेवा गुणस्तर बढाउनुका साथै स्रोत साधनको सदुपयोग हुने उहाँको भनाइ छ ।

उहाँले देउखुरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सेवा प्रवाह गर्न सके खर्च न्यूनीकरणसँगै सेवा प्रभावकारिता अभिवृद्धि हुने उल्लेख गर्नुभयो । साथै दमकल सेवा, रेविज नियन्त्रणजस्ता पूर्वाधारहरू पनि आवश्यकता अनुसार एकीकृत रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“दोहोरो खर्च नगरौं, महानगर उन्मुख लक्ष्य राखेर अघि बढौं,” डाँगीले भन्नुभयो, “यसले नागरिकलाई उपलब्ध हुने सेवा अझ सरल, सहज र गुणस्तरीय बनाउनेछ ।”