दाङमा राष्ट्रिय खोखो प्रतियोगिता हुँदै

दीपक बोहरा
दाङ,२४ वैशाख । दाङमा राष्ट्रिय स्तरको खोखो प्रतियोगिता हुने भएको छ ।

खोखो संघ दाङको आयोजनामा प्रथम खुल्ला पुरुष राष्ट्रिय खोखो प्रतियोगिता हुन लागेको हो । यही बैशाख २६ गतेदेखि २८ गतेसम्म हुने प्रतियोगितामा देशभरका खेलाडीहरु दाङ आउन लागेको दाङ जिल्ला खोखो संघका अध्यक्ष बालकृष्ण शाहले बताए ।

उनका अनुसार सातवटै प्रदेश र एउटा विभागिए टिम गरि ८ वटा टिमले प्रतियोगितामा भाग लिनेछन् । तुलसीपुर स्थित अरनीको मैदानमा हुने खेलमा सहभागिताकालागि आर्मीसहित तीन टिम आईसकेको अध्यक्ष शाहले बताए । साथै यो खेल सकिएपछि नेपालका दुई टिम र भारतको एउटा टिमबीच पनि प्रतिस्पर्धा हुने आयोजकले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

खोखो खेललाई नेपालमा स्थापित गर्नकालागि राष्ट्रिय स्तरको खेल आयोजना गरिएको अध्यक्ष शाहले बताए । दाङमा पहिलो पटक राष्ट्रिय स्तरको यो खेल आयोजना गरिएको हो । नेपालभर अहिलेसम्म तीन वटा लिगका खेल आयोजना गरिएको छ । यो खेलमा सहभागी हुने खेलाडीहरुलाई खाने बस्नेसहित आउने जाने यातायातको समेत ब्यस्थापन गरिएको आयोजकले जनाएको छ ।


त्यस्तै प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलकालागि प्रत्येक प्रदेशबाट १२ जना खेलाडी र एक जना कोच आउनेछन् । गएको बर्ष माघमा पहिलो पटक भएको विश्व खोखो प्रतियोगितामा नेपालको महिला र पुरुष टिम नै उपविजेता भएको थियो ।

जसमा भारतले महिला र पुरुष टिममा विजयी हाँसिल गरेको थियो । नेपाल विश्वमै उपविजेता टिममा जान सक्नु नै ठूलो उपलब्धी भएको भन्दै यो खेललाई अझै ब्यापक बनाउन राष्ट्रिय स्तरमै आयोजना गरिएको अध्यक्ष शाहले बताए । लिकम नकावटमा खेल खेलाईनेछ । खेल पूरा गर्नकालागि २७ लाख ६० हजार लगानीको स्टिमेट गरिएको छ ।

जसमा तुलसीपुर उपमहानगरपालिकाले ५ लाख र अन्य बिभिन्न निकायबाट सहयोग संकलन गरि करिब १० लाख संकलन भएको छ । बाँकी रकम पनि संकलन गर्ने तयारी रहेको आयोजकले बताएको छ । कार्यक्रममा खोखो संघका केन्द्रीय सदस्य उषा कुँवर मगरलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण खेल पत्रकार संघ दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।