पहल थिएटर निर्माण तीव्र, सहयोगका लागि सार्वजनिक अपिल

घोराही,३१ भदौ।
दाङमा जनस्तरबाट निर्माण भइरहेको पहल थिएटर (सामुदायिक कलाघर) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा अघि बढिरहेको छ। सीमित स्रोत–साधनका बीच स्थानीय समुदाय, कलाकार, साहित्यकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहयोगमा निर्माण भइरहेको कलाघरको संरचनाले क्रमशः आकार लिन थालेको छ।

पहल थिएटरलाई दाङको कला, साहित्य, चलचित्र, संगीत तथा रंगमञ्चको विकासका लागि साझा सांस्कृतिक थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। विशेषगरी स्थानीय प्रतिभालाई प्रशिक्षण, सिर्जना र प्रस्तुतीकरणको अवसर दिने तथा नयाँ पुस्तालाई कला र संस्कृतिसँग जोड्ने उद्देश्यले सामुदायिक कलाघर निर्माण अघि बढाइएको हो।

हाल भवनको मुख्य संरचना निर्माणको चरणमा पुगे पनि निर्माण सम्पन्न गर्न अझै आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको पहल थिएटरले जनाएको छ। भवन निर्माणसँगै रंगमञ्च, प्रकाश तथा ध्वनि प्रणाली, दर्शकदीर्घा, आवश्यक प्राविधिक सामग्रीलगायतका पूर्वाधार व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको आवश्यकता रहेको हो।


“पहल थिएटर एउटा व्यक्तिको मात्र सपना होइन, दाङको कला र संस्कृतिको साझा घर हो।” निर्माण अभियानले सहयोग गर्न चाहने व्यक्ति, संस्था, उद्योगी–व्यवसायी, कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा देश–विदेशमा रहेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरेको छ।

सानो सहयोगले पनि ठूलो सांस्कृतिक अभियानलाई अघि बढाउन सक्ने भन्दै पहल थिएटरले “आजको सहयोग, भोलिको पुस्ताका लागि सिर्जनाको घर” बन्ने विश्वास व्यक्त गरेको छ।