तीजको ‘सपिङ’ गर्न गएकाहरु शव बनेर फर्किए

दाङ,१७ भदौ ।
गएको असार २८ गते दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले एक महिना भित्र सिस्ने खोलाको पुल बनाउन निर्माण व्यवसायीले गरेको प्रतिबद्धतालाई आफ्नो फेसबुकमा पोष्टिए । घोराही–लमही सडकखण्ड अन्तर्गत पर्ने उक्त खोलामा पुल निर्माण गरिरहेको एडभेन्चररजेभीका प्रतिनिधि यज्ञ केसीसहितको पुलको फोटो हालेपछि समयमै पुल बन्ने कुरामा आशावादी बने । किनकी त्यो पुलले निकै सास्ती दिएको थियो । कुरुम्वाङ्ले उदाहरणीय कार्य गरेको भन्दै यो पुल एक महिना भित्रै बन्नेमा सबै निर्धक्क थिए । तर, दुई महिना पुग्नै लाग्दा पनि पुल निर्माणको काम एकरती पनि अघि बढेन । फलस्वरुप बुधबार राति निकै दुःखद घटना भयो । त्यतिबेला प्रशंसा गरेका निर्माण व्यवसायी केसीलाई दण्डित गर्नुपर्ने अबस्था आयो ।

बुधबार बेलुका १० बजेतिर खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भयो । तीजका सामग्री किनमेल गर्ने भनि चालक सहित पाँच जना कार रिजर्भ गरेर भारतको रुपैडिहा गएका थिए । सामान किन्दा–किन्दा रुपैडिहाबाट फर्किने क्रममा रात परिसकेको थियो । राती १० बजे सिस्नेखोला पुगे । महिलाहरुको महान पर्वका रुपमा लिइने तीज मनाउन सामान ल्याएर फर्किदै थिए । तर, उनीहरुको तीज मनाउने सपना चक्नाचुर प र्‍यो ‘सिस्ने खोलाले ।’

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार त्यो दिन खोला ठूलो आएको थियो । ठूला सवारी साधनहरु आवतजावत गर्न सक्ने भएपनि साना सवारी साधनहरु आवतजावत गर्न सक्ने अबस्था थिएन । अन्ततः कार पनि बग्यो । चालक हाम फालेर बाँच्न सफल भए । तर, अन्य चार महिलाको मृत्यु भयो । मृत्यु हुनेमा दुई जना एकै घरका हुन् ।

गाडी बगेपछि उद्दारमा खटिएको प्रहरी सहितको टोली । तस्वीर शौजन्य : कुलदीप न्यौपाने

घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ३२ वर्षीया शुसिला श्रेष्ठ र घोराही १४ निवासी ३० वर्षीया राधा श्रेष्ठ दुई बहिनी हुन् । उनीहरु घोराही उपमहानगरपालिका वडा नं। १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । उनका दुई जना मात्रै छोरी थिइन् । उनीहरु दुवै जनाको विहे भइसकेको थियो । जेठी छोरी शुसिलाका सन्तान छैनन्, तर, कान्छी छोरी राधाको १२ वर्षको एउटा छोरा रहेको वडा सदस्य खीमा घर्तीले जानकारी दिइन ।

 

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ४० वर्षीय रीता माया पुन, घोराही १४ निवासी करिब ४० वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरु प्र–३–०१–०२४ च ४४४० नम्बरको कारमा सवार थिए । कार चालक घोराही उपमहानगरपालिका वडा नं। १४ निवासी ४३ वर्षीय नर बहादुर पुनको खुट्टा भाँचिएको अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने मृतक चार जनाकै प्रतिष्ठानमा पोष्टमार्टम हुँदैछ ।


कम्पनी प्रतिनिधिलाई पक्राउ गर्न निर्देशन
दाङको लमही–घोराही सडकखण्ड अन्तर्गत सिस्नेखोलाले कार बगाएर चार जनाको मृत्यु भएपछि सोही खोलामा पुल निर्माण गरिरहेका निर्माण कम्पनीका प्रतिनिधिलाई दाङका प्रमुख जिल्ला अधिकारीले तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रजिअ रामबहादुर कुरुम्बाङ्ले बाँके प्रहरीलाई पत्र लेख्दै तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन् ।

पुल निर्माणको काम ढिला हुँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै सोही खोलामा पुल निर्माण गरिरहेको एडभेन्चररजेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन दिएका हुन् । पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि कुनै चासो नदिएको प्रजिअ कुरुम्वाङ्ले बताए ।

गएको असार २८ गते कम्पनीका प्रतिनिधि केसीले एक महिना भित्र काम सक्ने भनि प्रतिबद्धता जनाएको भनि प्रजिअ कुरुम्बाङ्ले आफ्नो फेसबुकमा अपलोड गरेका थिए । तर, दुई महिना वित्न लाग्दा पनि काम पूरा हुन सकेन् । काम नै अघि बढ्न सकेको छैन । सिस्ने खोला र पत्रे खोलामा निर्धारित समयमै पुल निर्माण नहुँदा यात्रुहरुलाई सास्ती हुने गरेको छ । वर्षादको समयमा आवतजावतमा समस्या हुने गरेको छ । त्यस्तै घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोला र सेवार खोलामा पुल निर्माणको कुनै सुरसार छैन । यी खोलाहरुमा पनि वर्षादमा सवारी आवतजावतमा निकै समस्या हुने गर्छ ।

साभार : दीपक बोहरा/नयाँ पत्रिका

https://www.nayapatrikadaily.com/news-details/70012/2021-09-02

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'