
तुलसीपुर, ६ वैशाख । जब गायक कुलेन्द्र विश्वकर्मा मञ्चमा उक्लिए, त्यसपछि सुरू भयो बिद्यार्थीको हुटिङ्ग । जब गीत गाउन थाले त्यसपछि आफू बसेको ठाउँबाट उठेर नाच्न थाले । विद्यार्थी मात्रै होईन्, शिक्षक र अतिथिहरु पनि नाच्न थाले । यो दृश्य हो–शुक्रबार ग्रेट अरनीको सेकेन्डरी स्कुलका कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रमको ।
विद्यालयले गायक कुलेन्द्र विश्वकर्मालाई ल्याएर मनोरन्जन दिएको थियो । विश्वकर्माले सालको पातको टपरी, डाँडै फुर्के सल्लोलगायतका चर्चित गीतहरु गाएका थिए । त्यसमा हाँस्य कलाकार कमल गाउँलले पनि प्रस्तुती रोखका थिए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले स्वदेशमै स्वरोजगार हुने तर्फ विद्यार्थीहरुले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद देवकोटा, नवराज भण्डारी,प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगी, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, शिक्षक झरेन्द्र खरेललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नेत्रलाल भट्टराइले गरेका थिए ।



लाइभदाङ । ६ बैशाख २०८२, शनिबार १९:२२ बजे