
दाङ, ७ असोज। ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवको अवसरमा बुधबार वृक्षारोपण कार्यक्रम गरिएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष सामुदायिक वन उपभोक्ता समूहको परिसरमा विभिन्न जातका डेढ सयभन्दा बढी बिरुवा रोपिएको हो ।
वृक्षारोपण कार्यक्रममा प्रतिष्ठानका रेक्टर प्राडा रामनारायण मण्डल, रजिस्ट्रार प्रा. श्याम लम्साल, डिन प्राडा कृष्णकुमार झा तथा अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी, चिकित्सक, नर्स तथा विद्यार्थीका साथै स्थानीय टोलवासी र सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले वृक्षारोपण गर्दै वातावरण संरक्षणमा सामूहिक प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा उपकुलपति प्राडा मिश्रले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम मात्र नभई वातावरण संरक्षण र भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको बताउनुभयो । उहाँले रोपिएका बिरुवाको संरक्षण र हुर्काउन सबैको साझा दायित्व रहेको उल्लेख गर्दै प्रतिष्ठानको वार्षिकोत्सवलाई सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोडेर मनाइएको बताउनुभयो ।
वृक्षारोपण कार्यक्रमको संयोजन न्युरोसर्जन डा. उपमा शर्माले गर्नुभएको थियो । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवअन्तर्गत विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।



लाइभदाङ । ७ आश्विन २०८३, बुधबार २०:४२ बजे