
तुलसीपुर, ४ बैशाख ।
राप्ती लोकमार्ग अन्तर्गत दाङको तुलसीपुरदेखि सल्यान कपुरकोटसम्मको सडकको बाँकी खण्डको स्तरवृद्धिको प्रक्रिया अघि बढेको छ । बाँकी ६ किलोमिटर सडक स्तरवृद्धिकालागि प्रक्रिया ठेक्का मूल्यांकनको काम भइरहेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले बताए ।
उनका अुनसार केही दिनमा ६ किलोमिटर सडक स्तरवृद्धिको काम अघि बढ्नेछ । हाल सोही क्षेत्रको ४ किलोमिटर सडक स्तरवृद्धिको काम भइरुहेको छ । राम्रीदेखि कपुरकोटसम्मको ४ किलोमिटर सडकमा ग्राभेल गर्ने काम भइसकेको भन्दै आगामी असारसम्म कालोपत्रे भइसक्ने सुवेदीले बताए । तुलसीपुरदेखि कपुरकोटसम्म २० किलोमिटर सडक छ । “बजारदेखि १० किलोमिटरसम्मको सडकमा मर्मत गरे मात्रै पुग्ने र बाँकी ६ किलोमिटरमा केही समयमा काम अघि बढ्ने छ”, सुवेदीले भने “बाँकी चार किलोमिटरमा ग्राभेलको काम भइसकेको छ, अब केही समयमा सुरु हुन्छ ।”
हाल तुलसीपुर–कपुरकोट सडक जीर्ण हुँदा आवतजावतमा निकै समस्या हुने गरेको छ । सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । लामो समयदेखि सोही सडक स्तरवृद्धि नहुँदा यात्रुहरुले आलोचना गरिरहेका छन् । बैकल्पिक सडक पनि व्यवस्थित नहुँदा लामो समयदेखि यात्रुहरुले सास्ती भोग्नु परेको हो । २०७९ सालदेखि उक्त सडक मर्मत सुरु भएको हो । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ४ बैशाख २०८२, बिहीबार १०:१३ बजे