बाँकेमा फरार ५६ जना प्रतिवादी पक्राउ

बाँके, ३ बैशाख ।
बाँकेमा फरार ५६ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको हो ।

उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र १८ लाख ८६ हजार जरिवाना असुलउपर गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध कारोबार, चेक अनादर, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो ।


प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो ।

अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको डिएसपी पातलीले बताउनुभयो ।