भरतप्रसाद कोईराला
सामान्यतः नेपालमा इन्डियन र युरोसियन टेक्टोनिक प्लेटबीचको घर्षणका कारण भूकम्प जाने गर्छ । इन्डियन प्लेट हरेक वर्ष युरोसियन प्लेटमुनि घुस्दै छ । यसैको परिणामस्वरूप दुई प्लेटबीच घर्षण उत्पन्न हुन्छ । त्यसबाट जमिनको भित्री सतहमा शक्ति सञ्चय हुन्छ । र, त्यही सञ्चित शक्तिले समयमै निकास नपाउँदा लामो समयको अन्तरालमा ठूलो भूकम्प जान्छ । नेपालमा जाने सबै भूकम्प इन्डियन प्लेट र युरोसियन प्लेटको जुधाइबाट निस्कने शक्तिकै कारण जाने हुन् ।
शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प पनि यिनै दुई प्लेटबीचको जुधाइले गएको हो । इन्डियन प्लेट युरोसियन प्लेटको मुनि धस्सिएर बसेको हुँदा हिमालय बनेको हो । यो धस्सिने र बाहिरिने क्रम निरन्तर चलिरहन्छ । त्यसैले गर्दा नेपाल आफैँमा भूकम्पीय जोखिममा रहेको मुलुक हो ।
म्याग्निच्युडका हिसाबले भने शुक्रबारको भूकम्प त्यति शक्तिशाली होइन । ६ देखि ७ म्याग्निच्युडसम्मका भूकम्पलाई शक्तिका आधारमा मझौला भूकम्प मान्ने गरिन्छ । ७ देखि ८ सम्मका भूकम्पलाई ठूला मानिन्छ भने ८ देखि माथिका भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । ०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्प ठूलो हो । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्प नयाँ हो, बारपाक, डोटी या बझाङमा गएका यसअघिका कुनै पनि भूकम्पको परकम्प होइन ।
जाजरकोट भूकम्पको ठूलो क्षतिको कारण : शुक्रबार जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पले धेरै ठूलो क्षति गर्यो । गत वर्ष डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा पनि यति धैरै क्षति भएको थिएन । १६ असोजमा बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गयो । त्यसले भौतिक क्षति गरे पनि अहिलेको तुलनामा निकै कम थियो ।
सामान्यतः कुनै पनि भूकम्प कति ठूलो म्याग्निच्युडको गयो, यसको उत्पत्ति बिन्दु कति गहिराइमा रहेको थियो, भूकम्प गएको क्षेत्रनजिक के, कति र कस्ता बस्ती थिए, स्थानीय भौगोलिक अवस्था, घर र भौतिक संरचना कति बलिया थिए, कुन समयमा भूकम्प गयो र त्यस क्षेत्रको जनघनत्व के कति थियो भन्नेले त्यसको क्षति कम वा बढी हुन सक्छ । जाजरकोटको भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटरभित्र मात्र छ । भूकम्पको केन्द्र जति कम गहिराइका हुन्छ क्षति त्यति नै बढी हुन सक्छ । जाजरकोट भूकम्पबाट भएको क्षतिले पनि त्यही संकेत गरेको छ ।
हताहती बढी हुनुको कारण : जाजरकोट भूकम्प शुक्रबार मध्यरातमा गयो । सबै सुतेका वेला भूकम्प गएको र त्यस क्षेत्रका भौतिक संरचना भूकम्पीय जोखिमका दृष्टिले कमजोर भएकाले धेरै मान्छेको हताहती भयो । तर, त्यही ठाउँमा ६।४ म्याग्निच्युडको भूकम्प दिउँसोको समयमा गएको भए मानवीय क्षति धेरै नै कम हुन सक्थ्यो । सामान्यतः माटो र ढुंगाका हाम्रा पहाडी क्षेत्रका सामान्य भौतिक संरचनाले भूकम्पीय धक्का थेग्न सक्दैनन् । त्यहाँ (जाजरकोट, रुकुम पश्चिम) को भौतिक संरचना निकै कमजोर भएकाले पनि क्षति बढेको हो ।
०७२ मा गएको गोर्खा भूकम्पपछि यसबाट प्रभावित क्षेत्रभन्दा बाहिर हाम्रो देशका विशेषगरी ग्रामीण भेगमा भूकम्पप्रतिरोधी वा भूकम्पको शक्तिशाली धक्का थेग्ने गरी घरहरू बनाइएका छैनन् । त्यहाँका परम्परागत घर स्थानीयस्तरमा उपलब्ध हुने निर्माण सामग्री ढुंगा, माटो वा ढुंगैढुंगाबाट प्रयोग गरेर बनाइएका छन् । त्यसैले, यहाँ धनजनको क्षति बढी भयो ।
भूकम्पको जोखिममा पश्चिम नेपाल : पोखरादेखि भारतको देहरादुनसम्म विगत ५२० वर्षदेखि ठूला भूकम्प गएका छैनन् । त्यसैले, त्यस क्षेत्रमा ठूला मात्र होइन, महाभूकम्प नै जान सक्ने शक्ति सञ्चित भएर बसेको छ । यसले गर्दा यस क्षेत्रमा जुनसुकै वेला विनाशकारी भूकम्प जान सक्छ । तर, त्यो भूकम्प कतिखेर र कहाँ र कुन क्षमताको जान्छ भनेर यकिन गर्न सकिँदैन । त्यसैले, हामी यसबारे अहिल्यैदेखि सचेत हुनु जरुरी छ ।
ठूला र महाभूकम्पको शक्ति सञ्चय भएर बसेको ठाउँमा एक–दुईवटा ५–६ म्याग्निच्युडका भूकम्प गएर हुँदैन, यसले खासै शक्ति घटाउँदैन । ६ म्याग्निच्युडका एक हजार भूकम्प गए भने मात्र ८ म्याग्निच्युडको एउटा भूकम्पले निकाल्ने शक्ति बाहिर निस्कन्छ । कि त ७ म्याग्निच्युडका ३२ वटा भूकम्प जानुपर्यो, त्यसले ८ म्याग्निच्युडको एउटा भूकम्पको सञ्चित शक्ति बाहिर निकाल्छ । होइन भने, शक्ति बाहिर निस्कन महाभूकम्प जान्छ नै । अहिले ६ म्याग्निच्युड हाराहारीका भूकम्प गए भनेर हामी ढुक्क भएर बस्न सक्ने अवस्था छैन, योभन्दा विनाशकारी भूकम्प जतिखेर पनि जान सक्छ ।
मध्य नेपालमा तत्काल ठूलो भूकम्प नआउला भन्ने हाम्रो अनुमान हो । किनकि गोरखा भूकम्पले सञ्चित शक्ति घटाएको छ । तर, पूरै नेपाल भूकम्पीय जोखिममा रहेको क्षेत्र हो । त्यसकारण जुनसुकै वेला पनि यहाँ भूकम्प जानसक्ने जोखिम रहिरहन्छ ।
तर, अन्यत्रका भन्दा पश्चिम नेपालका मान्छे अलि बढी नै सचेत हुनुपर्छ । किनकि त्यस क्षेत्रमा निकै लामो समयदेखि ठूलो भूकम्प गएको छैन । यसको अर्थ पश्चिम नेपालमा मात्र सचेत हुनुपर्छ, अन्यत्रका मान्छे बिन्दास भए हुन्छ, जोखिम छैन भन्न खोजिएको भने कदापि होइन ।
गोरखा भूकम्पको परकम्प स् गोरखा भूकम्पको परकम्प अहिलेसम्म किन भन्ने प्रश्न पनि उठ्छ । परकम्पको एउटा नियम छ । जस्तै, यस क्षेत्रमा गोरखा भूकम्पभन्दा अगाडि जुन मात्रामा भूकम्प जान्थे त्यस अनुपातमा नफर्किउन्जेलसम्म जति भूकम्प जान्छन्, तिनलाई परकम्प नै मानिन्छ । यस क्षेत्र (गोरखा, रामेछापलगायत) मा अहिले पनि गोरखा भूकम्पभन्दा अगाडि गइरहेका भन्दा २.५ प्रतिशत बढी भूकम्प गइरहेका छन् । परकम्प कहिलेसम्म आउँछ भन्न सकिँदैन ।
पूर्वतयारीका लागि चेतावनी : अहिले पश्चिम नेपालमा लगातार गइरहेका भूकम्पले त्यस क्षेत्रमा भूकम्पको शक्ति सञ्चय भइरहेको छ र त्यहाँ जुनसुकै वेला ठूलो शक्तिको भूकम्प जान सक्छ भन्ने जनाउ दिइरहेका छन् । यसको अर्थ यस क्षेत्रमा भूकम्पको शक्ति सञ्चित भएको छ, यहाँ भूकम्प जान सक्छ, यसबाट सुरक्षित हुन आवश्यक पूर्वतयारी गर भनेको हो । त्यसैले अबका दिनमा सबैले पश्चिम नेपालमा सुरक्षाको पूर्वतयारीमा जुट्नुपर्छ । भूकम्प थाहा दिएर आउँदैन, जुनसुकै वेला आउन सक्छ भन्ने तथ्यलाई सबैले जहिलेसुकै मनन गर्नुपर्छ ।
हालसालै डोटी, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएर गएका भूकम्पले हामीलाई सचेत मात्र गराएका हुन् । यहाँ अझै ठूलो र विनाशकारी भूकम्प जान सक्छ, ठुलो मानवीय क्षति हुन सक्छ, त्यसलाई कम गर्न पूर्वतयारी गर भनेर यी भूकम्पले खतराको घन्टी बजाइरहेका छन् ।
नेपालमा गोरखा भूकम्पपछि पूर्वतयारीका सवालमा केही सुधार भएको छ । तर, अझै धेरै काम गर्न बाँकी नै छ । भूकम्प गएका वेला अब काम गर्नुपर्छ भनेर तात्ने तर पछि सेलाउने गर्नु हुँदैन । मिडियाले पनि भूकम्प गएका वेला मात्र समाचार प्रकाशन गर्ने तर अघिपछि जनचेतनाका लागि समाचार नदिने गर्नु हुँदैन । सबैतिरबाट जहिल्यै सरोकारवाला निकायले घचघच्याइरहने गर्नुपर्छ ।
यसरी सकिन्छ जोगिन : हामी भूकम्पलाई रोक्न त सक्दैनौँ तर भूकम्पप्रतिरोधी घर–भवन बनाउन भने सक्छौँ । साथै, बनिसकेका या प्रयोगमा रहेका पुराना घर–भवनलाई ‘रेक्ट्रोफिटिङ’ गर्न पनि सक्छौँ । साथै, अबका दिनमा देशभर बन्ने हरेक भौतिक संरचनालाई भूकम्पप्रतिरोधी बनाउन सरकारले विशेष नियम ल्याएर कडाइसाथ त्यसको कार्यान्वयन गर्नुपर्छ । भूकम्प गइसकेपछि त्यसले निम्त्याउने जनधनको क्षति रोक्न अब बन्ने संरचनालाई भूकम्पप्रतिरोधी बनाउन नियमनकारी निकाय निर्मम हुनैपर्छ ।
यसका साथै, भूकम्प गइहालेको अवस्थामा कहाँ जाने, कसरी सुरक्षित रहने भन्नेबारे जनचेतना फैलाउनुपर्छ । भूकम्प वा अन्य विपत्का बखतमा सुरक्षित बस्न गाउँटोलमा खुला स्थान राख्नुपर्छ । सबैले सरकारको मात्र मुख ताक्नेभन्दा पनि आआफ्नो ठाउँबाट लाग्ने हो भने भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुने क्षति न्यूनीकरण गर्न भने अवश्यै सकिन्छ ।(कोइराला राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् हुन्) साभार : नयाँ पत्रिका
लाइभदाङ । २१ कार्तिक २०८०, मंगलवार १५:२४ बजे