डा. तपेन्द्रप्रसाद बोहरा
स्टोर्ट–अप भनेको त्यस्तो युवा कम्पनी हो, जसले एउटा विशिष्ट उत्पादन वा सेवा विकास गर्छ र त्यस्तो उत्पादन उपभोक्ताका लागि अपरिहार्य हुन्छ । स्टार्ट–अपको प्राथमिकता कृषि तथा पशुपक्षीजन्य कर्मको प्रतिफल वृद्धिका लागि प्रविधि र नवीनतामा हुन्छ । यसमा स्रोतको प्रयोगलाई अनुकूलन गर्न, उत्पादनमा सुधार गर्न र खेतीलाई अझ प्रभावकारी बनाउन सटिक खेती (प्रिसिजन एग्रिकल्चर), डाटा विश्लेषण र स्वचालनजस्ता प्रविधिको प्रयोग समावेश हुने गर्छ । स्टार्ट–अपहरू प्राथमिक उत्पादनदेखि मध्यम प्रशोधन, बिक्री वितरण र बजारीकरणसम्म फैलिन सक्छन् ।
यद्यपि, तिनले प्रविधिलाई एकीकृत गर्न सक्छन्, प्रतिफलहरू विशेष रूपमा उच्च–प्रविधियुक्त समाधानमा केन्द्रित हुँदैनन्, तर व्यापारका नमुना, मूल्य शृंखला सुधार र दिगो अभ्यास समावेश हुन सक्छन् । स्टार्ट–अपहरू सामान्यतया प्रविधिको विकास र एकीकरणमा केन्द्रित भएर कार्य गर्ने गर्छन् । तिनीहरू प्रायः सफ्टवेयर प्लेटफर्महरू, खेतगोठमा वास्तविक–समयमै सूचना संकलनका लागि ‘इन्टरनेट अफ थिंग्स’ उपकरण, हार्डवेयर उपकरण वा जैविक–प्रविधिमा आधारित समाधानका उपायमार्फत मूल्य शृंखला विकास गर्न विशिष्ट योगदान पुर्याउने उद्देश्य राख्न सक्नुपर्छ ।
नयाँ खाद्य उत्पादनको विकास, दिगो खेती अभ्यासको स्थापना, वैकल्पिक वितरणका माध्ययमको सिर्जना वा बजारको अन्तरलाई सम्बोधन गर्ने नवीन व्यावसायिक ढाँचाको कार्यान्वयनसमेत समावेश गर्न सकिन्छ । संक्षेपमा, स्टार्ट–अपले कृषि तथा पशुपक्षी क्षेत्रको उन्नतिमा योगदान पुर्याउँछ । स्टार्ट–अप सुरु गर्नु एक इनामदायी उद्यम हुन सक्छ, तर यसका लागि सावधानीपूर्वक योजना तर्जुमा र कार्यान्वयन आवश्यक छ ।
कृषि तथा पशुपक्षीजन्य उद्यम सुरु गर्न र चलाउन समर्पण, कडा परिश्रम र लचिलोपन चाहिन्छ । अनुकूलन, सफलता र चुनौती दुवैबाट पाठ सिक्न तयार हुनु यस क्षेत्रको आवश्यकता हो । खेती, पशुपक्षी पालन, जलचर, प्रशोधन, बिक्री–वितरण, बजारीकरण वा कृषि पर्यटन आदि यससँग सम्बद्ध क्षेत्र हुन् । स्टार्ट–अपका गतिविधि सञ्चालनका लागि छनोट गरिएको स्थानको माग, लक्षित वर्गको पहिचान र प्रतिस्पर्धीको मूल्यांकन गर्नका लागि पूर्ण बजार अनुसन्धान अपरिहार्य मानिन्छ । यसले वस्तु वा सेवाको बजार आवश्यकता पूरा गर्न मद्दत गर्छ ।
कुनै पनि स्टार्ट–अपका लक्ष्य, लक्षित बजार, वस्तु वा सेवा, बजार रणनीति, वित्तीय अनुमान र परिचालन योजनाको रूपरेखा दिने विस्तृत व्यावसायिक योजना लगानी जुटाउन र उद्यमलाई मार्गदर्शन गर्नका लागि महत्वपूर्ण मानिन्छ । प्रचलित कानुनअनुरूप नियमहरूको पालना र इजाजतपत्र प्राप्तिसमेत प्रविधि र उद्यम केन्द्रित स्टार्ट–अपका पूर्वाधार हुन् । उद्यम सुरु गर्न र चलाउन आवश्यक पुँजी निर्धारण गर्न व्यक्तिगत बचत, ऋण, अनुदान वा लगानीकर्ताजस्ता विकल्प अनुसरण गर्न सकिन्छ । कृषि तथा पशुपक्षीजन्य उद्यम चयन गर्दा माटोको गुणस्तर, उत्पादन सामग्रीको उपलब्धता, हावापानी, सडक, प्राविधिक सेवा र बजारसँगको निकटतालाई ध्यानमा राखेर उपयुक्त स्थान चयन गरी सिँचाइ प्रणाली, भण्डारण सुविधा र उपकरणजस्ता पूर्वाधारमा लगानी गर्नुपर्छ ।
उत्पादन सामग्रीको सहज प्रवाह सुनिश्चित गर्न आपूर्तिकर्ता र वितरकसँग सम्बन्ध स्थापनाको महत्व पनि त्यत्तिकै हुन्छ । आफ्नो व्यवसाय प्रवद्र्धन गर्न बलियो ब्रान्ड पहिचान र बजारीकरण रणनीति विकास गरी अनलाइन र अफलाइन माध्यम प्रयोग गर्ने तथा स्थानीय बजारमा भाग लिने वा किराना पसल र रेस्टुरेन्टसँग साझेदारी पनि गर्न सकिन्छ । कृषि तथा पशुपक्षीजन्य स्टार्ट–अपका सम्भावित जोखिम, जस्तै– मौसमसँग सम्बन्धित चुनौती, रोग तथा कीटको प्रकोप, वा बजार उतार–चढ़ावसँग जुध्न विभिन्न रणनीति समावेश गर्नुपर्छ । स्टार्ट–अपलाई सफल तुल्याउन उद्योगको प्रवृत्ति, नयाँ–नयाँ प्रविधि र उत्तम अभ्यासबारे सुसूचित रहन निरन्तर सिकाइसमेत आवश्यक मानिन्छ ।
अवसर र चुनौती : नेपालमा स्टार्ट–अपहरूले प्रारम्भिक लगानी र परिचालन खर्चका लागि पर्याप्त वित्तीय स्रोत जुटाउन विभिन्न चुनौतीको सामना गर्नुपर्ने बाध्यता छ । सीमित पूर्वाधार र प्रविधिको प्रयोगले उत्पादकत्व र दक्षतामा बाधा पुग्न सक्छ । आधुनिक उपकरणको अभाव, सिँचाइ सुविधा र प्रविधिको प्रयोग प्रमुख चुनौती हुन सक्छन् । त्यसैगरी बाढीपहिरो, भूकम्प, महामारीजस्ता प्रकोपको जोखिम, सानो र खण्डीकृत जग्गाले गर्दा आधुनिक खेती अभ्यास अपनाउन चुनौतीपूर्ण बनाउन सक्छ । विशेषगरी साना किसानले बजारको पहुँचमा कठिनाइ सामना गर्नुपरेको छ । आधुनिक कृषि तथा पशुपक्षी अभ्यासमा तालिम र शिक्षाका लागि दक्ष जनशक्तिको अभाव हुन सक्छ ।
यी चुनौतीका बाबजुद नेपालमा विविध कृषि–जलवायु क्षेत्र छन्, जसले विभिन्न बाली, वस्तु र कृषि तथा पशुपक्षीसम्बन्धी गतिविधिका लागि अवसर प्रदान गर्छ । जैविक र दिगो कृषि तथा पशुपक्षीमा आकर्षण बढ्दै गएको छ । जैविक अभ्यास अपनाएर र जैविक उत्पादनका लागि प्रमाणीकरण प्राप्त गरेर यस प्रवृत्तिको फाइदा लिन सकिन्छ । संघ, प्रदेश र स्थानीय सरकारहरूले कृषि तथा पशुपक्षीजन्य व्यवसायका लागि प्रोत्साहन, अनुदान र सहयोग कार्यक्रम प्रस्ताव गर्ने गरेका छन् । नेपालको समृद्ध सांस्कृतिक र प्राकृतिक सम्पदालाई कृषि पर्यटनमा सदुपयोग गर्न सकिन्छ ।
पर्यटन तत्वहरू समावेश गर्ने कृषि व्यवसायले ग्रामीण जीवन र कृषि गतिविधि अनुभव गर्न इच्छुक आगन्तुकलाई आकर्षित गर्न सक्छन् । यस क्षेत्रमा मूल्य अभिवृद्धि र प्रशोधन गर्ने सम्भावना छ । वनस्पति तथा पशुजन्य खाद्य प्रशोधन, प्याकेजिङ र मूल्य अभिवृद्धि गरी उत्पादनको विकासमा अवसर खोज्न सकिन्छ । कृषि तथा पशुपक्षी पालनका क्षेत्रमा आधुनिक प्रविधि उपयोग गर्न सकियो भने व्यवसायमा उत्पादकत्व र दक्षता बढाई कृषि तथा पशुजन्य उत्पादनको आयात प्रतिस्थापन गरी निर्यातका ढोका खोल्न सकिने पर्याप्त आधार छन् ।
चुनौती र अवसरलाई सम्बोधन गर्ने रणनीतिक दृष्टिकोण : मूल्य शृंखलाभित्र ठाडो एकीकरणका लागि अवसर अन्वेषण गर्ने बजारमा पुग्नुअघि कच्चा कृषि उत्पादनमा मूल्य थप्न प्रशोधन र प्याकेजिङ सुविधा समावेश गर्न सकिन्छ । दक्षता र उत्पादकत्व वृद्धि गर्न आधुनिक कृषि तथा पशुपक्षीसम्बद्ध प्रविधि आत्मसात् गर्ने अन्य व्यवसाय, किसान, अनुसन्धान संस्था र सरकारी निकायसँग बलियो सम्बन्ध निर्माण गरी साझा स्रोत, ज्ञान आदानप्रदान र बजारमा पहुँचको नेतृत्व गर्न सकिन्छ ।
कृषि व्यवसायमा संलग्न किसान र श्रमिकका लागि प्रशिक्षण कार्यक्रम र कार्यशालामा लगानी तथा सीप र ज्ञानले कृषि तथा पशुपक्षी अभ्यासको गुणस्तर सुधार गर्न र समग्र उत्पादकत्व बढाउन सक्छ । नयाँ बजार र वितरण माध्ययम अन्वेषण गरी निर्यात गर्न वा स्थानीय र अन्तर्राष्ट्रिय वितरकसँग साझेदारी स्थापना गर्न सक्छ । कृषि तथा पशुपक्षीजन्य उत्पादनको दायरा विविधीकरणबारे विचार गरी बजारको मागका आधारमा नयाँ बाली, प्रजाति वा मूल्य–वर्धित उत्पादन वृद्धि गराउन सकिन्छ । दिगो र पर्यावरणमैत्री अभ्यास लागू गर्न सकेमा वातावरणीय रूपमा सचेत उपभोक्ता र दीर्घकालीन माटो र स्रोत स्वास्थ्यमा पनि योगदान पुर्याउन सकिन्छ ।
विस्तारका लागि विकल्पमध्ये वित्तीय संस्था, सरकारी अनुदान वा निजी लगानीकर्ता, कृषि तथा पशुपन्छी व्यवसायमा रुचि राख्ने उद्यमी पुँजीपतिबाट लगानी खोजी समावेश गर्न सकिन्छ । कृषि तथा पशुपक्षी क्षेत्रका लागि सरकारी नीति र सहयोग कार्यक्रमबारे जानकारी लिई प्रोत्साहन, अनुदान र सहायता कार्यक्रमको फाइदा लिने र फराकिलो उपभोक्ता वा खरिदकर्तामा पुग्न इ–वाणिज्य प्लेटफर्म र अनलाइन बजारीकरणका माध्ययमबाट उपभोक्तासँग प्रत्यक्ष जोडिन र परम्परागत वितरणका माध्ययममा निर्भरता कम गर्न मद्दत गर्न सक्छ ।
गुणस्तर प्रमाणपत्र प्राप्तिले उत्पादनको प्रतिष्ठा बढाउन, बजारको पहुँचमा सुधार गर्न र थप खरिदकर्तालाई आकर्षित गर्न सक्छ । भण्डारण, यातायात र प्रशोधनसम्बन्धी पूर्वाधार सुधारले फसलपछिको नोक्सानीलाई कम गर्न र बजारमा उत्पादनको समयमै उपलब्धता सुनिश्चित गर्न मद्दत गर्न सक्छ । भ्रमण, फार्म स्टे वा उपभोक्तालाई कृषि तथा पशुपक्षी उत्पादन प्रक्रियासँग जोड्ने अनुभव प्रदान गरी कृषि–पर्यटनमा अवसर अन्वेषण गर्नाले थप क्षेत्रको सिर्जना गर्न र ब्रान्ड जागरुकतालाई बढावा दिन सक्छ । मौसमसम्बन्धी समस्या, रोग तथा किराहरू वा बजार उतार–चढावजस्ता सम्भावित चुनौतीको सामना गर्न प्रभावकारी जोखिम व्यवस्थापन रणनीति विकास गरी निरन्तर नवप्रवर्तन, गुणस्तरमा केन्द्रित र बजारको परिस्थिति बदलिँदो अनुकूलता नेपालमा कृषि तथा पशुपक्षी व्यवसाय स्टार्ट–अपको सफल विस्तारका लागि प्रमुख तत्व हुन सक्छन् ।
स्टार्ट–अपहरूले परम्परागत कृषि तथा पशुपक्षीसम्बद्ध अभ्यास परिवर्तन गर्न, कृषि तथा पशुपक्षीलाई थप डाटा–सञ्चालित, कुशल र दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । तिनका आविष्कारले खाद्य उत्पादनमा वृद्धि, किसानको जीवनस्तरमा सुधार र कृषि तथा पशुपक्षी उद्योगको समग्र विकासमा योगदान पुग्न सक्छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गुणस्तरीय उत्पादनको विकासले नेपालको सिमानाबाहिर थप बजार खोल्न सक्छ ।
खाद्यान्न आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा पर्ने जनचेतना बढ्दै गएको वर्तमान परिवेशमा धान, गहुँ, मकै, आलु, रैथाने बालीरवस्तु, भैँसी, खसीबोका, कुखुरा र दूधलगायत प्रमुख बाली तथा वस्तु उत्पादनले नेपालको कृषि तथा पशुपक्षी क्षेत्रमा रूपान्तरण सम्भव छ । नेपालको समृद्धिका लागि हामीलाई यी बाली र वस्तुको उत्पादनमा पूर्ण परिवर्तन चाहिन्छ । हामीलाई यी वस्तुको आयात प्रतिस्थापन गर्ने योजना चाहिन्छ । हामी कृषि तथा पशुपक्षी क्षेत्र र औद्योगिक जिल्लाको कुरा गर्छौं । यससँगै कृषि प्रशोधन क्षेत्रबारे पनि कुरा गर्न आवश्यक छ । (वरिष्ठ पशु चिकित्सक बोहरा कृषि तथा पशुपक्षी क्षेत्रका अनुसन्धाता हुन्) साभारः नयाँ पत्रिका
लाइभदाङ । १६ पुष २०८०, सोमबार १३:५२ बजे