
तुल बहादुर कवँर मगर
भालुबाङ, ७ चैत।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १, पाखापानीस्थित नव प्रतिभा आधारभूत विद्यालयकाे चार कोठे पक्की भवन निर्माण कार्यको बिहीबार शिलन्यास गरिएको छ।
विद्यालयको भौतिक संरचना अभावले पठनपाठनमा समस्या भइरहेको बेला गाउँपालिकाले ६० लाख रुपैयाँको बजेट विनियोजन गरी भवन निर्माण अघि बढाएको हो।
भवनको शिलान्यास गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको विकासलाई पालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षा प्रत्येक नागरिकको आधारभूत अधिकार हो। विद्यालयको राम्रो भौतिक संरचना भए मात्र शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ। नव प्रतिभा विद्यालयका विद्यार्थीले विगतमा जीर्ण भवनका कारण कठिनाइ खेप्नुपरेको थियो। अब नयाँ भवन निर्माण भएपछि उनीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउनेछन्।”
अध्यक्ष विष्टले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण पद्धति सुधार्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले थप्नुभयो, “विद्यालय भवन मात्र बनाएर पर्याप्त हुँदैन, शिक्षकहरूको दक्षता अभिवृद्धि, पाठ्यक्रममा नवीनतम प्रविधिको प्रयोग र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने वातावरण पनि आवश्यक छ।”
विद्यालय भवन निर्माणको जिम्मा गोल अफ सक्सेस कन्ट्रक्सन प्रालि प्यूठानले लिएको छ। विद्यालयका प्रधानाध्यापक निर्मला बन्जाडेले विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीको सिकाइ प्रक्रियामा असर परेको बताउँदै नयाँ भवन बनेपछि पठनपाठन सहज हुने आशा व्यक्त गर्नुभयो। “हाम्रो विद्यालयमा भवन अभावकै कारण विद्यार्थीहरूलाई पठनपाठनमा समस्या थियो। अब नयाँ भवन बनेपछि शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्नेछ,” प्रधानाध्यापक बन्जाडेले भन्नुभयो।
शिलान्यास कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खड्का, वडा सदस्य पार्वती सुवेदी, आत्माराम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल पोखरेल, समाजसेवी गन्ज बहादुर विष्ट लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।




लाइभदाङ । ७ चैत्र २०८१, बिहीबार १२:३७ बजे