
तुल बहादुर कवँर मगर
मसुरीयाँ, १६ माघ।
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा बुधबारदेखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
राप्ती गाउँपालिकाको आयोजना तथा माध्यमिक विद्यालय मौरीघाटको व्यवस्थापन, कृषि विकास बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेड मौरीघाट शाखाको सह प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षता एवं दाङ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ ।
खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलकुद प्रतियोगिताले स्थानीय स्तर बाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने बताउनुभयो ।



गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक रुपमा मात्रै नभएर आपसी मेलमिलापको रुपमा समेत लिन सकिने बताउनुभयो ।
खेल उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चौधरी,दाङ जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सन्तोष ओली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न राजनैतिक दलका प्रमुख,सुरक्षाकर्मी,सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक पूर्ण क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बासुदेव रिजालले गर्न भएको थियो ।भने सहभागीहरुलाई विद्यालयका सहायक खेल शिक्षक प्रमोद शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ३४ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका प्राथमिक, आधारभूत र माध्यामिक तहका विद्यार्थीहरूको सहभागीता रहेको छ।
प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते,हिसाब दौड खेलहरु समावेश गरिएको छ । खेल माघ १६ देखि १८ गते सम्म माध्यमिक विद्यालय मौरीघाटको प्राङ्गणमा चल्ने आयोजकले जानकारी दिएको छ ।
लाइभदाङ । १६ माघ २०८१, बुधबार २०:११ बजे