राप्ती प्रतिष्ठान र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच कार्यसम्पादन सम्झौता

घोराही, १३ कार्तिक ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानका उपकुलपति प्रा. डा. अजयकुमार मिश्रबीच कार्यसम्पादन सम्झौता गर्नु भएको हो ।

सम्झौतामा अस्पतालको सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीलाई समयमै शय्या उपलब्ध गराउने, उपचारका लागि लाग्ने प्रतीक्षा समय न्यूनीकरण गर्ने र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको छ। त्यसैगरी, स्वास्थ्यकर्मीको सेवामैत्री व्यवहार, संस्थागत सुशासन, पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्ने विषयसमेत सम्झौतामा समेटिएका छन्।

सम्झौतापछि प्रतिष्ठानका उपकुलपति प्रा। डा। अजयकुमार मिश्रले बिरामीलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र सेवामैत्री बनाउने दिशामा यो सम्झौता महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले स्वास्थ्य सेवामा सुधार ल्याउन अस्पतालको सरसफाइ, बिरामीले समयमै उपचार पाउने व्यवस्था, स्वास्थ्यकर्मीको व्यवहार तथा सेवा प्रवाहको प्रभावकारितामा विशेष ध्यान दिन कार्य सम्पादन सम्झौताले थप सहयोगी हुने बिश्वास ब्यक्त गर्नु भयो । सम्झौतामा उल्लेखित लक्ष्य कार्यान्वयन गर्दै सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधारका प्रयास अघि बढाइने उहाँको भनाई छ


उपकुलपति मिश्रले सम्झौतालाई बिरामीमैत्री, गुणस्तरीय, सहज, सुलभ तथा सम्मानजनक स्वास्थ्य सेवा प्रवाह गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिएको पनि उल्लेख गर्नुभयो । सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य सेवामा सुधार ल्याउने र अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा प्रतिष्ठान प्रतिबद्ध रहेको छ(उहाँले भन्नुभयो । कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्रीका बिज्ञ सल्लाहकार डा। मनोहर प्रधान र मन्त्रालय सचिब डा। बिकास देबकोटाको बिशेष उपस्थिती रहेको थियो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै राप्ती प्रतिष्ठानसहित ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्नु भएको हो ।

बिहीबार सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो।

मन्त्रालयका सचिव डा। विकास देवकोटाले समेत १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्नु भएको छ ।