
देउखुरी, १३ कार्तिक ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
सिराहाको गोलबजार नगरपालिकामा कार्यरत रहँदा सार्वजनिक राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केसीसहित तत्कालीन नगरप्रमुख, उपप्रमुख र अन्य कर्मचारी तथा ठेकेदारविरुद्ध मंगलबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार गोलबजार नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केसीसहित सातजनामाथि आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व संकलन तथा दाखिलामा अनियमितता गरेको आरोप छ ।
आयोगले सार्वजनिक सम्पत्तिमा एक करोड ६० लाख ४६ हजार तीन सय ४४ रुपैयाँ १० पैसा हानिनोक्सानी भएको ठहर गर्दै सोही रकमलाई बिगो कायम गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कार्यपालिका बैठकबाट बुझाउनुपर्ने राजस्वमा २७ लाख ३४ हजार नौ सय १३ रुपैयाँ छुट दिने निर्णय गरिएको थियो । अख्तियारका अनुसार प्रचलित कानुनविपरीत नगरसभाबाट हुनुपर्ने कर छुट कार्यपालिकाबाट दिइएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा हाटबजारको राजस्व संकलनका लागि ठेकेदार वीरेन्द्रकुमार यादवलाई अमानतमा जिम्मा दिइएको थियो । तर संकलन गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने एक करोड ३३ लाख ११ हजार चार सय ३१ रुपैयाँ १० पैसा असुल नगरेको आयोगको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ । यस प्रकरणमा तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार यादवविरुद्ध आरोपपत्र दायर गरिएको हो ।
आयोगले केसीसहित केही प्रतिवादीविरुद्ध एक करोड ६० लाख ४६ हजार तीन सय ४४ रुपैयाँ १० पैसा र अन्य दुई प्रतिवादीविरुद्ध एक करोड ३३ लाख ११ हजार चार सय ३१ रुपैयाँ १० पैसा बिगो कायम गरी कैद, बिगोबराबर जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ ।



लाइभदाङ । १४ कार्तिक २०८३, शुक्रबार १९:२३ बजे