बालबालिकामा जलवायु परिवर्तन तथा विपद् जोखिम सूचकाङ्कबारे राप्तीमा अभिमुखीकरण

मसुरिया,१३ कार्तिक।
बालबालिकामा जलवायु परिवर्तन तथा विपद् जोखिमसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा शुक्रबार अभिमुखीकरण कार्यक्रम गरिएको छ।

विकास तथा प्रकोप व्यवस्थापन केन्द्रको आयोजनामा भएको कार्यक्रममा बालबालिकामा जलवायु परिवर्तन तथा विपद् जोखिम सूचकाङ्क सम्बन्धी अभिमुखीकरण गरिएको हो।

राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा युनिसेफका लुम्बिनी प्रदेश प्रतिनिधि डम्बर बोहोराले जलवायु परिवर्तन तथा विपद्का कारण बालबालिकामा पर्न सक्ने असर, उनीहरूको जोखिम अवस्था, संरक्षण तथा जोखिम न्यूनीकरणका उपायका विषयमा सहजीकरण गर्नुभएको थियो।


कार्यक्रममा कार्यवाहक अध्यक्ष चौधरीले जलवायु परिवर्तन र विपद्को असरबाट बालबालिका बढी प्रभावित हुन सक्ने भएकाले उनीहरूको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले बालबालिकालाई विपद् जोखिमबारे सचेत गराउँदै पूर्वतयारी र जोखिम न्यूनीकरणका गतिविधिमा सहभागी गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलवान चौधरी, नेपाल रेडक्रस उपशाखा लालमटियाका सभापति उत्तम अधिकारी, अन्य जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख र बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।