तुलसीपुर, ८ माघ ।
मयुर नाच महिलाहरू विरलै नाचेको पाइन्छ । त्यसमा पनि अगुवा भएर नाचेको झनै–न्यून हुन्छ । तर, तुलसीपुर उपमहनगरपालिका वडा नं.११ निवासी प्रमिला पुन मगर विगत दुई वर्षदेखि मयुर नाचको अगुवाको रुपमा नाच्दै आएकी छन् । नयाँ पुस्ताले मयुर नाच्न छोडेको गुनासो आइरहेका बेला १८ वर्षीया प्रमिलाले मयुर नाचकै अगुवा गरिरहेकी छन् ।
स्थानीय संस्कृति संरक्षण युवा क्लबकी सचिव समेत रहेकी प्रमिलाले राम्रो नाच नाच्ने र सबै स्टेपहरू नाच्न सक्ने भएपछि सबैको सल्लाहले आफूलाई अगुवा बनाएको उनको भनाई छ । “सबैको सल्लाहले मलाई अगुवा बनाउनुभयो”,उनले भनिन् “त्यसपछि म दुई वर्षदेखि अगुवाका रुपमा नाच्दै आएकी छु ।”
मयुर नाचसंगै टप्पा, झ्याउरे, सिंगारु, थारु नाच पनि नाच्ने गरेको प्रमिलाले बताईन् । अगुवा भएर नाच्दा धेरैले प्रशंसा गर्ने गरेको समेत उनको भनाई छ । भैलो, मेला पर्वमा अरु नाचेको देखेर प्रमिलाले मयुर नाच नाच्न थालेकी हुन्। “मेला पर्व, भैलो खेल्दा मयुर नाच नाचेको देखेँ, मादलको तालमा नाच्ने कुरा रहेछ”,उनले भनिन् “त्यसपछि मैले त्यही तालमा नाच्न सिकेँ ।” उनको टिममा १२ जना छन् । त्यति मात्रै होईन्, नयाँ पुस्तालाई पनि मयुर नाच सिकाउने गरेको उनले बताईन् ।
अहिले विभिन्न कार्यक्रममा मयुर नाचकालागि माग हुने गरेको उनको भनाई छ । जहाँ कार्यक्रम हुन्छ, त्यो कार्यक्रममा जाँदा सोही अनुसार नाचलाई पारिश्रमिक आउने गर्दछ । गएको तिहारमा खेलेको भैलोबाटै पाँच लाख रुपैयाँ संकलन गरेको उनको भनाई छ । “भैलो खेलेरै पाँच लाख रुपैयाँ संकलन ग¥यौं, अन्य कार्यक्रममा पनि बोलाउनु हुन्छ”,उनले भनिन् “त्यसबाट १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म दिने गर्नुहुन्छ ।”
संकलन भएको रकम गरीब, दुःखीलाई सहयोग गर्ने गरेको समेत उनले बताईन् । अब बचत रहेको रकमबाट क्लबको भवन समेत निर्माण गर्ने योजना रहेको उनले बताईन् । “तुलसीपुर–१२ को कचिलामा जग्गा लिइसकेका छौं”,उनले भनिन् “अब त्यो जग्गामा भवन बनाउने योजना बनाएका छौं ।” साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ८ माघ २०८१, मंगलवार १९:४४ बजे