
दाङ, १४ भदौ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, क्षेत्र नं. १ दाङको प्रथम अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले झलक सिंह रसाइलीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी क्षेत्रीय उपाध्यक्षमा दीपक सुवेदी र गोविन्द प्रसाद गुप्ता, सचिवमा चन्द्रभान यादव, कोषाध्यक्षमा प्रवेश बेल्बासे र सहसचिवमा अनिलनाथ योगी निर्वाचित भएका छन । सदस्यमा रितेस सिंह खड्का, विवेक घर्ती मगर, कुविर गिरी, पूर्ण वहादुर महरा र रमित वुढा मगर चयन भएको निर्वाचन संयोजक भिमसेन लहरेले जानकारी दिनु भयो ।
अधिवेशनमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ की महाधिवेशन प्रतिनिधि केवलावती चौधरी, महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे ‘अरुण’ नेपाल तरुण दल क्षेत्र नं. १ का अध्यक्ष किरण विक्रम शाह र नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य प्रिया स्मृती गजमेरको विशेष उपस्थिति थियो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ की महाधिवेशन प्रतिनिधि केवलावती चौधरीले खेलकुदको विकास र युवा प्रतिभा उजागर गर्न खेलकुद संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो राष्ट्रको पहिचान, अनुशासन र एकताको स्रोत हो। युवा प्रतिभा पहिचान र प्रवर्द्धनमार्फत पार्टी र राष्ट्र दुवैलाई सेवा गर्न सकिन्छ ।”
चौधरीका अनुसार खेलकुदले युवालाई अनुशासित, स्वास्थ्यवान र सक्षम बनाउने भएकाले यसतर्फ पार्टीका विभिन्न निकाय र समाज दुवै जागरुक हुनु आवश्यक छ । उहाँले खेलकुदका पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राख्दै युवा प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे ‘अरुण’ ले खेलकुदमार्फत राष्ट्रिय एकता, स्वास्थ्य र सामाजिक सद्भाव प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपाल लोकतान्त्रिक खेलकुद संघलाई यस दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै खेलकुदले युवा पुस्तामा सकारात्मक ऊर्जा भरिदिने र राष्ट्रिय पहिचानलाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष किरण विक्रम शाहले खेलकुदले युवा प्रतिभा उजागर गर्ने र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँका अनुसार खेलकुद केवल मनोरञ्जनको माध्यम नभई राष्ट्र निर्माणको प्रभावकारी साधन हो । शाहले भन्नु भयो, “युवा पीढीलाई खेलकुदमार्फत अनुशासित, सशक्त र सक्षम बनाउँदै राष्ट्रलाई बलियो बनाउन सकिन्छ । खेलले स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गराउँछ, जसले सामाजिक सद्भाव र एकताको भावना बलियो बनाउँछ ।”
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य प्रिया स्मृती गजमेरले खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, प्रतियोगिताको आयोजना र स्थानीय स्तरमै प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने खालको रणनीति आवश्यक रहेकोमा जोड दिनु भयो ।



लाइभदाङ । १४ भाद्र २०८२, शनिबार ०८:०६ बजे