पैसाकै अभावमा घर फर्काइएका महादेवले पाउने भए उपचार

तुलसीपुर, २५ पुस ।
पैसाकै अभावमा उपचार हुँदा हुँदै घर फर्काइएका तुलसीपुर–१९ पिपलडाडाका महादेव चौधरीलाई भोलि नै अस्पताल भर्ना गरिने भएको छ । भारतको सिम्लामा काम गर्न गएका चौधरीको आगो ताप्नेक्रममा प्लास्टिक च्याप्टिएर घुडामुनि दुई वटै खुट्टा जलेको छ छोरा राजेन्द्र चौधरीले बताउनुभयो ।

तुलसपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले रकम अभावका कारण घर फर्किएको जानकारी पाए लगत्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछानेलाई फोन गरि चौधरीको उपचारमा लाग्ने सम्पूर्ण खर्च पालिकाबाटै भुक्तानी गर्ने जानकारी गराउनुभएको छ । नेपाल सरकारले अग्नि जलनमा परेका नागरिकको निःशुल्क उपचारको सात प्रदेशका सात वटा जिल्लामा व्यवस्था गरे पनि दाङका स्वास्थ्य संस्थामा यो सुविधा छैन ।


नागरिकलाई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र संविधानले नै स्वास्थ्य मौलिक अधिकारका रुपमा व्याख्या गरेकाले तुलसीपुर उपमहानगरपालिकाले २०८१/८२ को नीति कार्यक्रम र बजेटमा अग्नि जलनमा परेका नागरिकको सम्पूर्ण उपचारको व्यवस्था गरेको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो ।

नगर प्रमुख खड्काले एक हप्ता अघि नै तत्कालका लागि उपचार गर्न ५० हजार व्यवस्था गरे पनि चौधरी परिवार भुक्तानी लिन नआएको बताउनुभयो । नगरप्रमुख खड्काले अग्नि जलनमा परेका तुलसीपुर उपमहानगरपालिका वासीको उपचारको व्यवस्था पालिकाले नै गर्ने बताउनुभयो । यस आ.व.मा अग्नि जलन उपचार शीर्षकमा २० लाख विनियोजन गरेको छ ।