तुलसीपुर-२ का किशोर/किशोरीहरूलाई ३ दिने क्षमता अभिवृद्धि तालिम

सागर सुबेदी
तुलसीपुर, १४ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं २ मा किशोर/किशोरीहरूका लागि ३ दिने शारिरिक, मानसिक र सामाजिक विकासको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

तुलसी सामाजिक विकास केन्द्र दाङ र तुलसीपुर उपमहानगर पालिका वडा नं २ को कार्यालयको संयुक्त आयोजनामा ३ दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको हो । किशोर किशोरीसंग वडाअध्यक्ष कार्यक्रम अन्तर्गत वडाका विभिन्न सामुदायिक, संस्थागत तथा निजि विद्यालयमा अध्ययनरत तथा विभिन्न क्लबहरूको नेतृत्व गरिरहेका किशोर किशोरीहरुको सहभागी रहेको थियो ।


तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडाअध्यक्ष भिम बहादुर योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि योगीले अबको समाजलाई आधुनिक र सभ्य बनाउन बालबालिकामा लगानी गर्नु र उनीहरूलाई उचित आधुनिक शिक्षा प्रदान गर्नु महत्वपूर्ण बिषय रहेको बताउदै यस्ता तालिम आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता नेतृत्व तथा क्षमता अभिवृद्धि तालिमहरू सञ्चालन गर्ने बताए ।

उक्त समापन कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षार्थी सुवोध शर्माले राखेका थिए भने तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद भहादुर भण्डारी (गणेश) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रशिक्षार्थी दिपासा गिरीले गरेकी थिईन् ।