
सिन्धुपाल्चोक,२२ फागुन।
सिन्धुपाल्चोकमा करिब ५५.६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो ।
आज बिहान ३ बजेसम्म जिल्ला सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ । मतपेटिका मतगणनास्थल चौतारामा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । १ नम्बर क्षेत्रको गणना चौतारा साँगाचोकगढी नगरपालिका कार्यालय र २ नम्बर क्षेत्रको जिल्ला समन्वय समितिमा गणना हुनेछ ।
बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा १२ स्थानीय तहका १०३ वडामा रहेका १४६ मतदान स्थलमार्फत ३ सय ३८ मतदान केन्द्रबाट मतदान भएको हो। दुवै निर्वाचन क्षेत्रमा १८–१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३८ हजार १३ मतदाता रहेकामा ७९ हजार ४३३ मत खसेको छ ।
यस क्षेत्रमा महिलातर्फ ६५ हजार ९७३ मतदाता रहेकामा ३६ हजार ३८६ मतखसेको छ भने पुरुषतर्फ ७२ हजार ४० मतदाता रहेकामा ४३ हजार ४७ मतखसेको छ।
जिल्लाभर महिलातर्फ १ लाख ३१ हजार ६९६ मतदाता रहेकामा ६९ हजार ६ मत खसेको छ भने पुरुषतर्फ १ लाख ४३ हजार ३०२ मतदाता रहेकामा ८४ हजार १४२ मत खसेको छ।
यससँगै सिन्धुपाल्चोकमा कुल १ लाख ५३ हजार १४८ मत खस्दै ५५।६९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



लाइभदाङ । २२ फाल्गुन २०८२, शुक्रबार ०६:५२ बजे