व्यवसायमा जोडिदैछन्, मुक्तकम्लरीहरू

तुलसीपुर, १० पुस ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा १८ निवासी मनप्यारी चौधरी अहिले व्यवसायमा ब्यस्त छिन् । उनको बारीमा काउलीका बोट उम्रिएका छन् । त्यही हेरचाहमा उनको दिन वितिरहेका छन् । त्यस्तै मुक्तकम्लरी तुलसीपुर–१८ बकुलाई निवासी आशा चौधरी पनि अहिले दिनभर ब्यस्त नै छन् । उनी अहिले बाख्रा पालनमा ब्यस्त छन् । तुलसीपुर १६ डोक्रेना निवासी मुक्तकम्लरी सुनिता चौधरी पनि गोलभेडा खेति र भेडा पालनमा ब्यस्त छन् ।

उनीहरू त केही उदाहरण मात्रै हो । मुक्त कम्लरी विकास मन्चले चलाएको घुम्ती कोषबाट रकम लिएर उनीहरु व्यवसायमा जोडिन थालेकी हुन् । घुम्ती कोषबाट ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यसले आफूहरुलाई व्यवसाय गर्न सहज भएको व्यवसायी सुनिता चौधरीले बताईन ।“हामी पहिले के गर्ने, कसो गर्ने भन्ने थियो, दैनिकी जुटाउन पनि गाह्रो–गाह्रो पथ्र्यो”,उनले भनिन् “अहिले घुम्ति कोषबाट रकम लिएर आफ्नो व्यवसाय गर्न थालेका छौं, यसले हामीलाई व्यस्त पनि बनाएको छ, भने आम्दानीको बाटो पनि खुलेको छ ।”

तालिम पनि पाउने र घुम्ती कोष पनि पाउने भएपछि महिलाहरूलाई व्यवसाय गर्ने आँट पनि बढेको छ । मुक्त कम्लरी तथा न्यून आयस्तर भएका महिलाहरूलाई लक्षित गरि आयस्तरमा जोड्न थालको हो । मुक्त कम्लरी विकास मन्च दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं.१५, १६ र १८ का महिलाहरूलाई आयआर्जनमा जोड्नकालागि कार्यक्रम चलाएको छ । एक वर्षमा ३० जनालाई घुम्ती कोषबाट व्यवसायमा जोडिएको छ, भने १४ जनालाई बंगुर, बाख्रा लगायतका तालिम प्रदान गरिएको थियो ।


तालिम प्राप्तहरूलाई बंगुरका पाठा समेत उपलब्ध गराईएको कार्यक्रम संयोजक सुलोचना चौधरीले बताईन् । त्यस्तै विभिन्न सचेतनामुलक तथा व्यवसायिक तालिम समेत प्रदान गर्ने गरिएको छ । त्यस्तै तीन वटा वडामा तीन वटा युवा क्लव समेत गठन गरिएको छ । युवा क्लवहरूले बाल विवाह न्यूनिकरण, सचेतनामुलक सडक नाटक देखाउँदै आएका छन् । तीन वडामा ७ वटा समूह पनि बनाईएको छ ।  मुक्तकम्लरी, दलित, अतिविपन्न महिलाहरूलाई आम्दानीमा जोड्न गएको वर्षदेखि ‘मुक्त कम्लरी शसक्तिकरण परियोजना’ सञ्चालित रहेको मन्चका उपाध्यक्ष निर्मला चौधरीले बताईन् । आईएम नेपालको सहयोगमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

न्यून आर्थिक अवस्था भएकाहरुलाई व्यवसायमा जोड्ने गरि आएको कार्यक्रमले समाजलार्य आत्मनिर्भरको बाटो तर्फ उन्मुख गराउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । “यस्ता कार्यक्रमहरूले समाजमा आत्मनिर्भर बनाउछ, आम्दानीका स्रोतहरू बढाउछ”,उनले भने “यस्ता कार्यक्रम निरन्तर चल्नुपर्छ ।” साभारः अग्रिम साप्ताहिक