कविता : ‘तिमी आउँदैनौ फर्केर त्यही’ गाउँ हुँ तिम्रो !

✍️ सागर रावल

न्याउली बासिरहने डांडैनेर
वारी पारी जंगलले घेरिएको
म गाउँ हुँ तिम्रो !

बालवय र युवा उमेर काट्यौ तिमीले
आधा उमेरमै एक्लो छाडेर गयौं तिमीले
अझै पनि अँधेरो हुँदा डर लाग्छ मलाई
तिमी आउँदैनौ फर्केर त्यही गाउँ हुँ तिम्रो।

जहां जन्म्यौ जहाँ रम्यौ र खेल्यौं
भन्थानको डाँडो देउलेडीको लेख केतुकानको
काखमा बसिरहेको म अहिलेपनि जिवित छु।
खाली रौनक छैन त्यही गाउँ हु तिम्रो !

वनमारा र बन्सो र सिउरीले मलाई निलिसके
अब त कोही फर्केलान्
र मलाई सम्हालान् भन्ने लाग्न छाडिसक्यो
मेरो रनवन ,खोलानाला मैले दिएको ओतमा हराइसके म त्यही घर हुँ तिम्रो


यसरी किन बिर्सेको
म झुपडी नै सही
म कच्चा नै सही
म एकान्त र विकट नै भएपनि
घर हुँ तिम्रो।
तिम्रो हातखुट्टा कमजोर हुदां
मैले नै आंगन दिएं
र वामे सर्यौ
तोते बोल्थ्यौ जब तिमी
मैले नै आवाज दिएं।
तिमिलाइ घुँडा टेकाउने आड दिए
त्यही घर हुँ तिम्रो।

आज म बाँझो छु
म एक्लो छु
भत्किएर छियाछिया भएको छु।
त्यही छोडेर हिंड्यौं कहिले झरी परेर दुःख दिन्छ
कहिले आँगन वरिपरि बगाउन खोज्छ
त्यही घर हुँ तिम्रो।

कहां हरायौ तिमी
कुन मोहमा भुल्यौ
वा सांसारिक व्याकुलतामा फस्यौ
संम्झन्छौ कि विर्स्यौ तिमीलाई आधार दिएको त्यही गाउँ हुँ तिम्रो।

म अतीत हुं
म शुरूआत हुँ
म तिम्रो जीवनको प्रारम्भ हुं
म अस्थिपन्जरमा बाँचिरहेको उही तिम्रो घर हुँ।