
तुलसीपुर,३१ जेठ ।
दाङको तुलसीपुर उपमहानगर–पालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पूराना विमानस्थलमा पर्छ । २०११ सालमा उक्त विमानस्थल सञ्चालनमा आएको हो । तर, यस विमानस्थल सुरुवातदेखि जत्रौ थियो, त्यो भन्दा ठूलो बनाउन सकिएको छैन । हाल विमनस्थलको लम्बाई ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठूला बिमानहरु बस्न सक्दैनन् । १९ सिटे जहाज मात्रै बस्छन् । त्यो भन्दा ठूला जहाज बस्न नसक्दा नियमित पनि हुन सकेको छैन, भने भाडा पनि महंगो छ । जसले गर्दा प्रभावकारी रुपमा सेवा सञ्चालन हुन सकेको छैन ।“हामीले हप्तामा चार दिन हवाई सेवा सञ्चालन गरिरहेका छौं”,नेपाल एयरलाईन्सका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले भने“तर, नियमित छैन, कहिल्यै महिनामा दुई दिन मात्रै पनि चल्छ ।” आईतबार, मंगलबार, विहीबार र शुक्रबार आउने भनिएपनि नियमित हुन सकेको छैन । कहिल्यै यात्रु नभएर समस्या हुन्छ, भने कहिल्यै मौसमले पनि आउन सक्दैन । त्यसले गर्दा पनि यहाँका यात्रुहरु भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता रहदै आएको छ । अहिलेको धावन मार्ग ७५० मिटर मात्रै लम्बाई हुँदा ठूला जहाज बस्न सक्दैनन् । यसको धावन मार्ग विस्तारकालागि पटक–पटक आवाज उठे । तर, पनि पूरा हुन सकेको छैन । तुलसीपुर उपमहानगर–पालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा उपमहानगरपालिकाले विमानस्थल स्तरबृद्धिको पहलकालागि समिति निर्माण गरेरै लाग्यो । उपप्रमुख चौधरी स्तरबृद्धिकै लागि भनेर पटक–पटक मन्त्रालय–मन्त्रालय धाईन् । तर, त्यसले पनि खासै उपलब्धी हुन सकेन ।“यो हाम्रो क्षेत्राधिकार भित्र होइन्, संघीय सरकार मातहत छ”,उनले भनिन्“हाम्रो पालिका भित्र भएकाले हामीले पहल लिइरहेका छौं ।” उपमहानगरपालिकाले यस अघि आफैले केही यात्रु बराबरको भाडा तिरिदिने समेत सहमति गरेर विमान नियमित बनाएको थियो, भने तुलसीपुर उद्योग बाणिज्य संघले पनि पटक–पटक विमान निमयति बनाउनलाई पहल लिइरहेको थियो ।
बक्तब्यमा आउथ्यो, किताबमा आउँदैनथ्यो
आर्थिक वर्ष २०६८/०६९ को बजेट बक्तब्यदेखि दाङको टरिगाउँ विमानस्थलमा नियमित जसो वर्षहरुमा बजेट बक्तब्यमा आउने गथ्र्यो । तर, बजेट भने नआउने समस्याले यस क्षेत्रका नागरिक आजित छन् । २०६८/०६९ मा कालोपत्रे भएको थियो । जतिबेला कर्मचारी सञ्चय कोषबाट ऋण लिएर देशका बिभिन्न विमानस्थलहरुको कालोपत्रे गरिएको हो ।“त्यतिबेला हामीसंग पैसा थिएन”, तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले भने“ कर्मचारी सञ्चयकोषबाट ऋण लिएर भएपनि कालोपत्रे गरेका हौं ।” त्यो भन्दा अघि टरिगाउँ विमानस्थल घाँसे मैदानमा थियो । करिब साढे ८ करोड लागतमा अस्पाल्ट प्रबिधिबाट विमानस्थल कालोपत्रे भएको हो । त्यसपछि २०७८ तिर ५८ लाख लागतमा टर्मिनल भवन बन्यो । त्यो बाहेक अन्य बजेट आएको छैन । आगामी आर्थिक वर्ष २०८३/०८४ कालागि पनि बजेट बक्तब्यमा समावेश भएको छ । तर, यस पटक बजेट बिनियोजन हुने दाङ ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले बताए । उनले पहिलो चरणमा २५ करोडको हाराहारीमा बजेट बिनियोजन गरेर बहुबर्षिय बनाउने गरि तयारी गरेको बताउनुभयो । बहुबर्षिय बनाएमा यो विमानस्थल स्तरबृद्धि हुने उनको विश्वास छ । खासगरि टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारकालागि बजेट आवश्यक हो । हाल ७५० मिटर लम्बाई भएको धावन मार्ग छ, त्यसलाई बढाएर १५ सय मिटरसम्म बनाउन सकेमा मात्रै ठूला जहाज बस्न सक्छन् । तर, हाल १९ सिटे टुइनेटर मात्रै बस्ने र सानो हावा वा हुस्सु लागेपछि पनि बस्न नसक्ने अबस्था हुन्छ । कहिल्यै आउने र कहिल्यै नआउने हुँदा यात्रुहरुको विश्वास समेत जित्न सकेको अबस्था छैन । त्यसैले गर्दा पनि यस क्षेत्रका यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अबस्था छ । ०११ सालदेखि ०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको एयरपोर्ट त्यो बीचमा नियमति हुन सकेको थिएन । तैपनी कहिल्यै आउने र कहिल्यै नआउने गर्दै २०५८ सालसम्म चल्यो । त्यसपछि कालोपत्रेको काम भयो । कालोपत्रे हुँदा उडान अबरुद्ध नै थियो । कालोपत्रे पश्चात पुनः २०७२ जेठ १४ गते गोमा एयरले उडान सुरु गरेको थियो । तर त्यो एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्न पुगेको थियो। हाल नेपाल एयरलाईन्सले टरिगाउँमा उडान भरिरहेको छ । तर, पनि निश्चित छैन । सानो हावा लाग्यो भने पनि उडान हुँदेैन । बादल वा हुस्सु लाग्यो भने पनि समस्या त्यस्तै हुन्छ । हाल हप्तामा चार दिन भनिएपनि महिनामा दुई दिन जसो मात्रै उडान हुने गरेको एयरलाईन्सका दाङ शाखा प्रमुख बलबहादुर सुनारले बताए ।“हप्तामा चारदिनको सेडुअल छ”,उनले भने “तर, महिनाको दुई दिन पनि धौ–धौ आउँछ ।”
बैकल्पिकको चपेटामा
दाङमा बैकल्पिक बिमानस्थलको बहस पनि थालियो । त्यसको मारमा पनि टरिगाउँ विमानस्थल परेको छ । २०७५÷०७६ को बजेटमै जिल्लामा बैकल्पिक विमानस्थलको खोजी गर्ने भनि बजेट आयो । त्यसकै जगमा २०७७/०७८ र ७८/०७९ मा नारायणपुरमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने भनि बजेट बक्तब्यमा समावेश भयो । केही बजेट पनि आयो । तर, काम हुन नसकि फ्रिज भयो ।
चार विकल्पको डीपीआर
विमानस्थल विस्तारकालागि चार वटा विकल्प दिईएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर टरिगाउँ विमानस्थल विस्तार गर्न सकिने गरि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) बनाएको छ । तर, बिकल्प नम्बर १ अनुसार नै काम गर्ने गरि अगाडी बढेपनि त्यो हुन सकेको छैन । पहिलो विकल्प हाल भइरहेको धावन मार्गमै विस्तार गरि १२३० मिटर लम्बाई रनवे हुन सक्छ । जसकालागि ५७ विघा जग्गा चाहिन्छ । अहिले एयरपोर्टको ३९ विघा जग्गा छ । बाँकी सामुदायिक बनको १२ विघा, अधिग्रहण १.२ विघा र सार्वजनिक जग्गा ४.८ विघा लैजानुपर्छ । यसरी एयरपोर्ट बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख चौवन्न हजार ८ सय लागत अनुमान गरिएको छ । जसमा फुटपाथ तथा संरचना निर्माणको कामकालागि २ अरब ७६ करोड ५० लाख ९४ हजार ८ सय ६०, भवन लगायतका सामग्रीहरुकालागि ३ अरब १३ करोड ४२ लाख ४० हजार, विबिध कामकालागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणकालागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ । यो विकल्प अनुसार अहिले रहेका घरहरु फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी एयरपोर्ट बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्न सक्ने अवस्था रहदैन । रातको समयमा हवाई अवतरण गर्नकालागि थप ४५० मिटर जमिन चाहिन्छ । यो डिजाईन अनुसार काम गरेमा ५ वर्षमा एयरपोर्ट बन्नेछ । यसमा आईई र ईआइए गर्न २ वर्ष लाग्छ । आईईई र ईआईई गर्नुकासाथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ ।
दाङबाट नेपालगञ्ज र रुकुम जान्थ्यो
सुरुवातमा दाङको टरिगाउँ विमानस्थलबाट जहाज रुकुमको सल्ले, चौरजहारी तथा बाँकेको नेपालगञ्ज समेत जान्थ्यो । सुरुमा टरिगाउँ विमानस्थलमा आएर यात्रु लैजानकालागि एक दिन नेपालगञ्ज हुँदै काठमाडौं जाने गरेको नागरिक समाजका पूर्व अध्यक्ष टिकाराम रेग्मीले बताए । उनका अनुसार अर्कोदिन टरिगाउँबाट रुकुमको चौरजहारी गएर पुनः काठमाडौं जान्थ्यो, भने तेस्रो दिन रुकुमको सल्ले गएर काठमाडौं जान्थ्यो । त्यतिबेला ‘डकोटा’ नामको विमान चल्थ्यो । यसरी नियमित तीन दिन हवाई सेवा सञ्चालनमा हुन्थ्यो । यसरी २०५८ सालसम्म निरन्तर रुपमा विमान हप्तामा तीन दिन सञ्चालन भएपनि अहिले भने त्यसो हुन नसकेकोमा उनले दुःख समेत ब्यक्त गरे ।“ पहिलो निरन्तर हप्तामा तीन दिन विमान चल्थ्यो”,उनले भने“तर, अहिले अनियमत हुँदा नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ ।”
इन्धन डिपो पनि मारमा
हाल सोही ठाउँमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरिसकेको छ । त्यो सबै खर्च नेपाल आयल निगमको हो । विमानस्थलको जग्गा मात्रै निगमलाई उपलब्ध गराईएको हो । तर, पनि महिनामा १/२ पटक मात्रै इन्धन खपत हुने गरेको छ । जसले गर्दा त्यसबाट खासै आम्दानी लिन नसकिएको इन्धन डिपो कार्यालय तुलसीपुरका लेखा अधिकृत कैलाश देवकोटाले बताए ।“महिनामा एक–दुई पटक मात्रै इन्धन खपत हुन्छ”,उनले भने “त्यसले त हाम्रो लगानी अनुसार घाटा नै हुन्छ ।” उनका अनुसार चालु आर्थिक वर्षको जेठसम्म ४० हजार ८ सय ६५ लिटर मात्रै इन्धन खपत भएको छ ।



लाइभदाङ । ३१ जेष्ठ २०८३, आईतवार ०७:५१ बजे